पाकिस्तानमा गिर्जाघर जलाइयो, इसाईहरूको घरमा तोडफोड

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले हिंसामा संलग्नलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्। 

तस्वीर: रोयटर्स

पाकिस्तानमा दुई जना व्यक्तिले कुरानको अपमान गरेको आरोपमा मुस्लिमहरूले गिर्जाघरमा आगो लगाएका छन्।

बीबीसीका अनुसार हजारौँको संख्यामा निस्किएको भिडले पूर्वी पञ्जाब प्रान्तको जरानवालामा इसाईहरूको घर तोडफोडसमेत गरेका छन्। कम्तिमा चारवटा गिर्जाघरमा आगो लगाइएको र चर्चसँग जोडिएका एक दर्जनभन्दा बढी भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ। 

ती दुई पुरुषले कुरानका पानामा रातो अक्षरमा लेखिएको अपमानजनक टिप्पणी फेला पारेको प्रहरीले जनाएको छ। 

यस क्रममा केही स्थानीयहरू घर छाडेर भागेका थिए। “उनीहरूले झ्याल, ढोका तोडेर फ्रिज, सोफा, कुर्सी र अन्य घरायसी सामान निकालेर गिर्जाघरको अगाडि थुपारेर जलाउन लगाए,” घर छाडेर भग्नेमध्येका यासिर भट्टीले भने, “तिनीहरूले बाइबल पनि जलाए।” 

सामाजिक सञ्जालमा अपलोड गरिएका भिडियोमा प्रदर्शनकारीले इसाईका भवन ध्वस्त गरिरहँदा प्रहरी मुकदर्शक बनिरहेको देखिन्छ।

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले हिंसामा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको बीबीसीले जनाएको छ।