गाउँलेविरुद्धको मुद्दा जितेपछि सामाजिक बहिष्कार

देवदह नगरपालिका–१२ ढोलबजवाका शिवबिन्दु भुज पिरवारले पसलबाट खरिद गर्न पाउँदैनन्। गाउँमा उर्दी जारी भएको छ– 'भुजको परिवारलाई केही नदिनु, कोही नबोल्नु।'

भैरहवा– देवदह नगरपालिका–१२ ढोलबजवाका शिवबिन्दु भुजको परिवार सामाजिक बहिष्करणमा परेको छ। भुज पिरवारले गाउँको पसलबाट केही खरिद गर्न पाउँदैनन्। गाउँमा उर्दी जारी भएको छ– भुजको परिवारलाई केही नदिनु, कोही नबोल्नु। 

शिवबिन्दुसँग बोल्ने गाउँलेलाई २५ हजार रुपैयाँ जरिबानासमेत तोकिएको छ। गाउँमा समान खरिद गर्न नपाएपछि उनी सलाई खरिद गर्नुपरे पनि मझौली बजार पुग्छन्। बालापनका साथीहरू अछुतको झैँ व्यवहार गर्छन्। उनी अरूको घर जान पाउँदैनन्। अरू उनको घर आउँदैनन्। 

शिवबिन्दुका भाई पशुपतिले जग्गासम्बन्धी मुद्दा जितेपछि गाउँलेले सामाजिक बहिष्कार गरेका हुन्। सार्वजनिक जग्गा कब्जा गरी बसेका गाउँलेविरुद्ध पशुपतिले मुद्दा दर्ता गरी जिल्ला अदालत र उच्च अदालतबाट मुद्दा जितेका थिए। पशुपति पनि हाल गाउँ छाडेर काठमाडौँ बस्दै आएका छन्। 

देवदह नगरपालिका–१२ ढोलबजवामा रहेको करिब तीन बिगाहा आठ कठ्ठा १२ धुर सार्वजनिक जग्गा गाउँलेले दामासाहीले बाँडेका थिए। उक्त सार्वजनिक जग्गा गौचरनको साथै मरेका घरपालुवा फाल्ने स्थलका रूपमा थियो। ढोलबजवा गाउँभन्दा उत्तरतर्फको उक्त जग्गामा गाँउलेले कब्जा गरेपछि पशुपतिले रुपन्देही जिल्ला अदालतमा २७ जना गाउँलेविरुद्ध 'सार्वजनिक जग्गा चलन चलाई पाउँ' भन्दै मुद्दा दर्ता गरे। सोहीअनुसार २०७७ माघ २९ गते जिल्ला अदालतले भुजको पक्षमा फैसला गर्दै सार्वजनिक जग्गा खाली गर्न आदेश दिएको थियो। यसमा गाउँलेहरूले चित्त बुझाएनन् र पुनरावेदन गरे। पुनरावेदनमा पनि उच्च अदालत तुलसीपुर बुटवल इजलासले २०७९ कात्तिक २८ गते जिल्लाकै फैसलालाई सदर गरिदियो। 

फैसला गर्दै उच्च अदालतले सार्वजनिक रूपमा रहेको सो जग्गामा रहेको संरचना हटाउन आदेश दियो। अदालतले दिएको सोही आदेश अहिले पशुपति भुजको परिवारलाई “सामाजिक बहिष्करण” को कारण बनेको छ। आदेशकै कारण उनी गाउँमा जान सकेका छैनन्। परिवारलाई गाउँलेले बहिष्कार गरेका छन्। “वडा कार्यालयमा चार किल्ला लिन गएको थिएँ, मलाई कुटपिटको प्रयास गरियो,” भुजले भने “सार्वजनिक जग्गा संरक्षण त स्थानीय तहले नै गर्नुपर्ने हो तर उहाँहरू त अतिक्रमण गर्नेहरूको पक्षमा हुनुहुन्छ।”

सार्वजनिक रूपमा चलन चलाई दिने भन्दै रुपन्देही जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालयलाई बोधार्थ दिंदै देवदह नगरपालिका–१२ लाई पत्राचार गरेको छ। तर अदालतको सो आदेश कार्यान्वयन गराउन यी तीनै निकायले चासो नदिएको भुजको आरोप छ। “सार्वजनिक जग्गाको संरक्षण होस् भन्ने मेरो उद्देश्य हो, सोहीबमोजिम मुद्दा दायर गरेको हुँ,” उनी भन्छन्, “तर अहिले सोही विषयलाई लिएर मलाई र परिवारलाई ज्यान मार्ने धम्की आइरहेको छ।” उनले आफ्नो परिवारको जिउधनको रक्षाका लागि सहयोग गरिदिन पनि अपिल गरेका छन्। 

जग्गा कब्जा गर्ने गाउँलेले पनि सो जग्गा सार्वजनिक पर्ति रहेको स्वीकार गरेका छन्। सशस्त्र द्वन्द्वको समयमा खाली जग्गा कब्जा हुनबाट जोगाउन गाउँलेले उक्त स्थानमा झुपडी बनाएका थिए। अहिले सो स्थानमा पक्की घर बनेका छन्। “यत्रो लगानी गरिसकेका छौँ, वडा कार्यालयलाई घरधुरीलगायत अन्य कर पनि तिरिरहेकै छौँ सरकारले कसरी घर भत्काउन भन्न सक्छ?,” स्थानीय रीताकुमारी कँवरले भनिन्, “यहाँ अधिकांश हामी भूमिहीन छौँ अब हामी छाडेर कहाँ जाने?” 

कब्जा गरेको भनिएको जग्गामा अहिले आफूहरूले लाखौँ खर्च गरी पक्की संरचना निर्माण गरेकाले जग्गा छोड्न नसक्ने अडान गाउँलेको छ। पशुपति भुजले दुःख दिने नियतले मुद्दा हालेको गाउँलेको दाबी छ। गाउँलेको भनाइलाई नै वडा कार्यालयले समर्थन गरेको छ। देवदह नगरपालिका–१२ का वडाध्यक्ष डेगबहादुर सारू मगरले उक्त जग्गा खाली गराउन नसकिने बताए। “उजुरी र फैसलामा जबरजस्ती कब्जा गरी बसेको भनिएको छ, तर उक्त जग्गा जबरजस्ती कब्जा गरेको नभई तत्कालीन परिस्थिति अनुसार बाँडेको देखिन्छ,” उनले भने।

आफ्नो क्षेत्रमा रहेको सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने निकायले नै भोटको राजनीतिका कारण कब्जा भएको जग्गा पनि फुकाउन सकेको छैन। मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ मा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई दिएको छ।