सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले पीडित किशोरी‍की आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ।

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले पीडित भनिएकी किशोरी (गौशाला २६) को आमाको जन्ममिति यकिन हुने कागजात झिकाउन आदेश दिएको छ। बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति पुष्टि गर्न आदेश दिएको हो।

सन्दीपका वकिल मुरारी सापकोटाका अनुसार पीडितको उमेरसम्बन्धी कागजातमा उनकी आमाको उमेर दुई वटा देखिएपछि इजलासले जन्ममिति यकिन गर्न आदेश दिएको हो।

सर्वोच्च अदालतले गत १५ फागुनमा फास्ट ट्रयाकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन आदेश दिएको भए पनि सुनुवाइका लागि चढेको पेशी पटक–पटक स्थगित हुँदै आएको छ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो। भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो भने सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठाएको थियो। तर, पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो। सर्वोच्च अदालतले पनि सोही आदेशलाई सदर गरेको थियो।