विभेदको अन्त्य आरक्षणबाट होइन ज्ञान र सिपले हुन्छ : केपी ओली

नेकपा एमाले अध्यक्ष ओलीले मुलुकलाई विकासशील राष्ट्रमा पुर्‍याउन कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोग अनिवार्य रहेको बताएका छन्।

फाइल तस्वीर

झापा– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातीय विभेदको अन्त्य आरक्षणबाट नभई ज्ञान र सिपबाट मात्र हुने बताएका छन्।

एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीबार दमकमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न नसक्ने बताए। उनले आरक्षणले ज्ञान, सीप र क्षमतालाई निष्क्रिय बनाउँदै समुदायका पनि एउटा निश्चित व्यक्तिले मात्र अवसर पाउने बताए।

“आरक्षणले बौद्धिकता र ज्ञानमाथि अन्याय हुन्छ”, उनले भने। लामो समयदेखि उत्पीडनमा परेका जाति समुदायलाई केही समयका लागि मात्र आरक्षणको व्यवस्था गरिएकाले अब लामो समय जान नहुनेमा उनले जोड दिए।

नेपालमा संविधान र कानूनमा विभेद हटेको वर्षौँ भए पनि मानिसको चेतना र व्यवहारमा हट्न अझै बाँकी रहेको उनको भनाइ छ। उनले देशमा भएको जातीय विभेदविरुद्ध संगठित रूपमा एमालेले आवाज उठाउँदै आएकाले अब राज्यतहबाटै विभेद उन्मूलनको योजना अघि बढाइने बताए।

उनले बिहीबार झापा क्षेत्र नं ४ सुरुङ्गा बजारमा आयोजित चुनावी सभामा मुलुकलाई राष्ट्रियता र लोकतन्त्रको निम्ति लड्न सक्ने शक्तिको खाँचो भएको बताए। मुलुकमा सुशासन कायम गर्ने, विकासलाई अगाडि बढाउने र राष्ट्रियताका लागि लड्ने सक्ने शक्ति अबको आवश्यकता भएको उनले बताए।

अध्यक्ष ओलीले राष्ट्रिय निर्माणको सङ्कल्प बोकेको शक्ति मुलुकमा एमालेबाहेक अरू कुनै पनि हुन नसक्ने जिकिर गरे। उनले विगतको ४१ महिना आफू प्रधानमन्त्री हुँदा गरेका कामको फेहरिस्त हालै पार्टीले सार्वजनिक गरिएको घोषणापत्रमा समेत उल्लेख गरेको बताए। “एमालेले गरेका सयवटा कामका बारेमा बसेकै ठाउँबाट भन्नसक्छु”, उनले भने।

कृषिमा प्रविधिसँगै आधुनिकीकरण आवश्यक
त्यस्तै, झापाको शिवसताक्षी नगरपालिकाको शिवगञ्जमा आयोजित सभामा उनले सबैखाले विकासले मात्रै मुलुकको अवस्था बदलिने बताए। उनले पूर्वाधार विकाससँगै आर्थिक, कृषिसँगै अन्य क्षेत्रको उन्नति भएमात्रै मुलुक समुन्नत हुने बताए।

अध्यक्ष ओलीले मुलुकलाई विकासशील राष्ट्रमा पुर्‍याउन अहिले कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोग अनिवार्य रहेको बताए। “प्रविधि प्रयोग किसानलाई सिकाउँदै कृषिको आधुनिकीकरण गर्दै लैजानुपर्छ”, उनले भने, “कृषिलाई व्यावसायीकरण गरिए मुलुकको अर्थतन्त्र अघि बढछ।”

उनले नदी नियन्त्रणसँगै कन्काई बहुउद्देश्यीय परियोजना शुरू गरिने बताए। उनले बिरिङ र कन्काई नदीको तटबन्धको काम अघि बढाउने उल्लेख गरे। देशका लागि सुदृढ राष्ट्रिय एकता आवश्यक रहेको बताउँदै उनले भने, “मुलुकको शान्ति र एकता अहिलेको आवश्यकता हो।”