लम्पी स्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति दिन सकिँदैन: कृषिमन्त्री

लम्पी स्किन रोग लागेर पशु मरेपश्चात् किसानलाई ठूलो क्षति भए पनि सरकारले त्यसको सम्पूर्ण क्षतिपूर्ति दिन नसक्ने कृषिमन्त्री डा. वेदुराम भुसालको भनाइ छ।

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति दिन नसक्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पी स्किनबाट मरेका पशुको क्षतिपूर्ति दिन नसकिने बताएका हुन्। लम्पी स्किन रोग लागेर पशु मरेपश्चात् किसानलाई ठूलो क्षति भए पनि सरकारले त्यसको सम्पूर्ण क्षतिपूर्ति दिन नसकिने उनको भनाइ छ। 

“लम्पी स्किन रोग लागेर पशुहरूको मृत्यु भयो र, किसानहरूलाई ठूलो क्षति भयो। क्षतिपूर्ति नै त गर्न सक्दैनौँ होला। अरू अरू सन्दर्भमा पनि क्षतिपूर्ति नै भनेर गर्न सकेका छैनौँ,” उनले भने।

यद्यपि सरकारका तर्फबाट किसानलाई राहत दिने गरी कार्यविधि बनिरहेको बताए। उनले सरकारको तर्फबाट राहत उपलब्ध गराउन आधार, मापदण्ड र कार्यविधि लगायतका प्रक्रियालाई अगाडि बढाइएको जानकारी दिए। “कार्यविधि पास हुने बित्तिकै राहत दिन्छौँ,” कृषिमन्त्री भुसालले भने। 

लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशु संक्रमित भएका छन्। मन्त्री भुसालले चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताए।

लम्पी स्किनविरुद्ध भ्याक्सिन तान्जानिया, टर्की र जोर्डनबाट आयात गरिरहेको उनले जानकारी दिए। “अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएको छ। ६ लाख ८६ हजार चार सय ५० पशुलाई भ्याक्सिन लगाइएको छ,” उनले भने।  

मन्त्री भुसालले सरकारले सबै प्रदेशमा पशुलाई लाग्ने रोग लम्पी स्किनविरुद्ध उपचार, लक्षणलगायतका विषयमा सचेतना दिइरहेका कारण मृत्युदर घटेको उल्लेख गरे।