१६औँ योजना वस्तुनिष्ठ र परिणाममुखी बनाउन चेम्बरको ध्यानाकर्षण

नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रहरूको सूचीबाट स्तरोन्नति हुने भएकाले त्यसपछिको अवस्थालाई मध्यनजर गरेर रणनीति तय हुनुपर्ने चेम्बरले सुझाव दिएको छ।

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले १६औँ योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएको छ। मुलुकमा रहेका प्राकृतिक स्रोतसाधनको उच्चतम प्रयोग एवं निर्यातको वातावरण सिर्जना गर्नेगरी योजना तर्जुमा गर्न चेम्बरले सुझाव दिएको हो। 

१६औँ योजनाको अवधारणा एवं अतिकम विकसित मुलुकहरूको सूचीबाट स्तरोन्नतिपछि उत्पन्न परिस्थितिबारे आयोजित छलफलमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले १५औँ योजनामा उल्लेखित कतिपय लक्ष्यहरू पूरा हुन नसकेको सन्दर्भमा १६औँ योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउनुपर्ने बताए। योजना आयोगको लक्ष्य एवं सरकारको वार्षिक बजेटबीच समन्वय हुन नसक्दा अपेक्षाअनुसार परिणाम हासिल हुन नसकेको मल्लको भनाइ छ।

मल्लले भने, “१५औँ योजनाको अन्त्य हुने आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धि १०.३ प्रतिशत गर्ने लक्ष्य राखिएको थियो, चालु आर्थिक वर्षका लागि आर्थिक वृद्धिको लक्ष्य नै ६ प्रतिशत राखिएको छ।” १५औँ योजनामा समावेश गरिएका अधिकांश लक्ष्यहरू अधुरै रहेको अध्यक्ष मल्लले बताए।

प्रमुख शहरहरूमा मेट्रोरेल निर्माण, १८ स्थानमा औद्योगिक क्षेत्र निर्माण जस्ता महत्त्वकांक्षी कार्यक्रमहरू १५औँ योजनामा समावेश भए पनि कार्यान्वयन हुन नसकेकोमा चेम्बरले ध्यानाकर्षण गराएको छ।

अन्तरक्रिया कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले १६औँ योजना सामाजिक न्याय र सुशासनसहितको आर्थिक समृद्धिमा केन्द्रित हुने बताए। कृषिको पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रको वस्तुनिष्ठ अध्ययन गरेर योजना तर्जुमा गर्ने काम भइरहेको उपाध्यक्ष श्रेष्ठको दाबी छ।

अतिकम विकसित मुलुकहरूको सूचीबाट नेपाल स्तरोन्नति भएपछि उत्पन्न हुने परिस्थिति सम्बन्धमा आयोगले रणनीतिक तयारी गरिरहेको समेत उनले बताए। उपाध्यक्ष श्रेष्ठले भने, “अतिकम विकसित मुलुकबाट नेपाल स्तरोन्नति भएपछि युरोपेली मुलुकबाट पाउँदै आएको व्यापार सहुलियतमा केही असर गर्न सक्छ, यसका लागि पनि हामीले तयारी गरिरहेका छौँ।” 

नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रहरूको सूचीबाट स्तरोन्नति हुने भएकाले त्यसपछिको अवस्थालाई मध्यनजर गरेर रणनीति तय हुनुपर्ने चेम्बरले सुझावसमेत दिएको छ।