इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले अहिलेको अवस्थामा डेंगी संक्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगीको संक्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेंगी संक्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ।
महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले दैनिक डेंगीको संक्रमण बढिरहेकाले संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकताअनुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह गरेका छन्।
उनले अस्पतालमा डेंगी रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्नुपर्ने बताए। उनका अनुसार डेंगी संक्रमण अहिलेसम्म १४ हजार ३५७ जनामा देखिएको छ। यस्तै संक्रमण ७५ जिल्लामा फैलिएको र अहिलेसम्म १० जनाको संक्रमणको कारणले निधन भइसकेको छ।
सबैभन्दा बढी सुनसरी जिल्लामा सात हजार ४९५ जनामा संक्रमण देखिएको छ। सुनसरी जिल्लामा मात्र कुल संक्रमितको ५२.२ प्रतिशत रहेका छन्। महाशाखाका निर्देशक डा. मरासिनीले डेंगी रोगको सही निदान र उपचार व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएका छन्।
“दैनिक डेंगी संक्रमण बढिरहेको छ। संघअन्तर्गतका अस्पताल र प्रतिष्ठानलाई डेंगी रोग रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न निर्देशन दिएका छौँ,” उनले भने।
डेंगी रोगको निदान तथा उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेंगी रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजनाअनुसार कार्य गर्न र डेंगी रोगको निदानका लागि आवश्यक किटको सुनिश्चितसमेत गर्न अस्पताललाई भनिएको छ। महाशाखाले अहिलेको अवस्थामा डेंगी संक्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ।
उनले वर्षायाम शुरू भएसँगै असारको अन्तिम सातादेखि संक्रमण ह्वात्तै बढिरहेको बताए। डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्दछ। नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो।
मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ। यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
