अमेरिकाले बंगालको खाडीमा नियन्त्रण कायम गर्न खोजेको बंगलादेशी प्रधानमन्त्रीको आरोप

अमेरिकाले ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचन सम्पन्न गर्न तथा ‘मानव अधिकार रक्षा’ का लागि भन्दै बंगलादेशलाई दबाब दिइरहेको प्रधानमन्त्री हसिनाको दाबी छ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बंगालको खाडीमा अमेरिकाले नियन्त्रण कायम गर्न खोजेको आरोप लगाएकी छन्। 

अमेरिकाले ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचन सम्पन्न गर्न र ‘मानव अधिकारको रक्षा’ का लागि भन्दै बंगलादेशलाई दबाब दिइरहेको उनले बताइन्। “बंगलादेशीको निर्वाचन र लोकतन्त्र अमेरिकाको उद्देश्य होइन,” हसिनाले भनिन्, “उनीहरू हिन्द महासागर र बंगालको खाडीक्षेत्रमा नियन्त्रण कायम गर्न चाहन्छन्।”

उनले आफ्ना पिता शेख मुजिबुर रहमानका स्वघोषित हत्यारा रशेद चौधरीलाई आश्रय दिएकोमा अमेरिकाको आलोचना गरिन्। भनिन्, “हत्यारालाई आश्रय दिने देशले कसरी मानव अधिकार, निर्वाचन र पारदर्शिताको कुरा गर्छ?” 

उता, अमेरिकी विदेश मन्त्रालयले भने बंगलादेशको लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाएको भन्दै केही बंगलादेशी अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने चेतावनी दिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ। 

वासिङ्टनले यसअघि बंगलादेशको अपराध नियन्त्रणका लागि विशेष बल, र्‍यापिड एक्सन बटालियनमाथि मानव अधिकारको घोर उल्लंघन गरेको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो।