मेची राजमार्गका ७ स्थानमा पहिरो, फुङलिङ–काबेलीखण्ड अवरुद्ध

शुक्रबार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेकाले दिउँसोसम्ममा यातायात सञ्चालन हुनसक्ने  सडक डिभिजन कार्यालय इलामले जनाएको छ।

तस्वीर: दावा शेर्पा

ताप्लेजुङ– बिहीबार राति गएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत फुङलिङ–काबेली सडकखण्ड अवरुद्ध भएको छ। 

वर्षासँगै ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ खोक्सेबाट खहरेखोलासम्म विभिन्न ठाउँमा पहिरो झरेको छ। सो खण्डको सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए। शुक्रबार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ। 

“ठाउँ ठाउँमा पहिरो झरेको छ, बिहानैदेखि पन्छाउने कार्य भइरहेको छ, सम्भवतः आजै यातायात सञ्चालनमा आउन सक्छ,” उप्रेतीले भने। 

सडक अवरुद्ध बनेपछि ताप्लेजुङ सदरमुकामबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने र सदरमुकाम फुङलिङ भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन्।