प्राधिकरणको संलग्नतामा रणनीतिक महत्वका आयोजना अगाडि बढाउँछौँ: प्रधानमन्त्री

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएर १८ घण्टाको लोडसेडिङ अन्त्य गरी देशलाई उज्यालोतर्फ अघि बढाएको प्रधानमन्त्रीको दाबी छ। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा केही रणनीतिक महत्वका ठूला आयोजना अगाडि बढाउने बताएका छन्। 

शुक्रबार नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ठूला र बहुउद्देश्यीय प्रकृतिका आयोजना अगाडि बढाउने सरकारको सोच रहेको उल्लेख गरे। 

“आगामी दिनमा एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त परियोजना तथा १० हजार ८०० मेगावाटको बहुआयामिक कर्णाली चिसापानीजस्ता ठूला जलविद्युत् आयोजनाको निर्माण अघि बढाउने सोच र योजना साथ सरकार अघि बढेको छ,” उनले भने। 

बिजुली निर्यातका लागिसमेत स्पष्ट लक्ष्यसाथ सरकार अघि बढिरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो। प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएर १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएको उनको दाबी छ। 

आन्तरिक विद्युत् खपतको वृद्धि गर्दै ऊर्जा सुरक्षा हासिल गर्नुका अतिरिक्त स्वदेशी विद्युत् माग पूरा गरी बढी भएको परिमाणको विद्युत् बिक्रीका लागि मार्ग प्रशस्त भएको उनले बताएका छन्। सरकारले नयाँ विद्युत् ऐन र अन्य आवश्यक नीति/निर्देशिका ल्याउने तयारी गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

 ऊर्जा सुरक्षालाई पनि एकीकृत राष्ट्रिय सुरक्षाकै अंकका रूपमा लिँदै जलविद्युत्‌को प्रचुर उत्पादनबाट हरित, स्वच्छ ऊर्जा उत्पादकका रूपमा नेपालको अन्तर्राष्ट्रिय जगत्‌मा समेत परिचय स्थापित गरी सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता पूरा गर्न कार्य योजनासाथ अघि बढ्नुपर्ने उनले बताए।