कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिनुपर्नेछ। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। 

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छन्। 

भदौ ४ गते दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिए। उनका अनुसार विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना दर्ता भइसकेको छ। 

साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिनुपर्नेछ। 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। मुख्यमन्त्री थापालाई कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसदको समर्थन छ। 

यसअघिका सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि सत्तापक्षसँग कठिन बहुमत पुगेको हो। विपक्षमा एमालेका ३९ र राप्रपाका ६ जना सांसद छन्। एमालेकी सिर्जना दनुवार उपसभामुख छिन्।