कानूनमन्त्री भन्छन्– उच्च तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन्। शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानूनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने बताएका हुन्। 

सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरू सबैको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको, अब त्यसको कार्यान्वयन गरेर अगाडि बढ्ने उनको भनाइ। “सरकारको नीति तथा कार्यक्रममा पनि प्रष्ट लेख्यौँ, उच्च तहका नेताहरू सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर, त्यसै लेखेको होइन। देखाउनका लागि लेखेको होइन। यो कुनै हात्तीको दाँत होइन। यो कार्यान्वयन नै गर्ने हो,” उनले भने, “त्यसकारण उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ।”

मन्त्री गुरुङले मुलुकलाई सुशासन स्थापित गरेर अघि बढाउन सरकार प्रतिबद्ध रहेको जिकिर गरे। उनले बजारमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरणसँगै अहिले सुनकाण्ड आएको भन्दै सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने दाबी गरे। भ्रष्टाचारको लिंग, जात, धर्म हुँदैन भन्ने मान्यतासाथ सरकार अगाडि बढ्ने उनको भनाइ थियो।  

उनले सुन तस्करीलाई सामान्य हेलचेक्र्याइँका रूपमा हेर्न नहुने बताए। “आज मात्रै पढ्दै थिएँ, सुन तस्करी प्रकरण साधारण हेलचेक्र्याइँले गर्दा भएको हो रे। त्यति ठूलो पहेँलो हात्ती गेटबाट छिर्दा खेरी साधारण हेलचेक्र्याइँ हो भन्ने प्रतिवेदन आयो भन्ने पढ्दै थिएँ। तर, त्यस्तो होइन। हामीले धेरै कुरा सुधार्नुपर्ने रहेछ,” उनले भने।

कानूनमन्त्री गुरुङले सरकारले कानूनको चाङ लगाएर मात्रै केही नहुने भन्दै सबै दोषी कानूनको कठघरामा उभिने बताए।