‘कुरूप तानाशाह जोकर’ भन्दै ट्रम्पलाई विष दलिएको चिठी पठाउनेलाई २२ वर्षको जेल सजाय

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध जैविक हतियार प्रयोगको आरोपमा ५६ वर्षीया पास्केल फेरिअरलाई अमेरिकी अदालतले २२ वर्षको जेल सजाय सुनाएको छ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई विष दलिएको चिठी पठाउने क्यानडाकी एक महिलालाई अदालतले झन्डै २२ वर्षको जेल सजाय सुनाएको छ। जैविक हतियारको प्रयोग गरेको आरोपमा ५६ वर्षीया पास्केल फेरिअरलाई अमेरिकाकाे एक अदालतले सजाय सुनाएको बीबीसीले जनाएको छ।

उनलाई अदालतले २६२ महिना अर्थात् २१ वर्ष ८ महिनाको जेल सजाय सुनाएको हाे। साथै उनले जेल सजाय भुक्तान गरेपछि निर्वासनमा पठाउने र अमेरिका आइहालेमा कडा निगरानीमा राख्ने आदेश दिइएको छ। 

पास्केलले ट्रम्पलाई सम्बोधन गरेर पठाएको विषाक्त–चिठी सन् २०२० मा ह्वाइट हाउस पुग्नुअघि नै सुरक्षाकर्मीले बरामद गरेका थिए। अमेरिकाकाे केन्द्रीय अनुसन्धान ब्युराे (एफबीआई)ले चिठीमा लागेका औँलाको छापका आधारमा पास्केललाई पक्राउ गरेको थियो। चिठीमा उनले ट्रम्पलाई राष्ट्रपतीय चुनावको दौडबाट पछि हट्न चेतावनी दिएकी थिइन्।

पास्केलले अदालतमा बयान दिने क्रममा ट्रम्पलाई राष्ट्रपतीय निर्वाचनमा सहभागी हुनबाट रोक्न नसक्दा आफूलाई पछुतो लागेको बताएकी थिइन्। यस्तै, आफू आतंककारी नभएर एक अभियन्ता भएको तर आफ्नो योजनाले काम नगरेको उनको भनाइ थियो। एफबीआईले अदालतमा पेश गरेका कागजातमा पास्केलले ट्रम्पलाई ‘कुरूप तानाशाह जोकर’को संज्ञा दिएको उल्लेख छ।

चिठीमा उनले ‘रिसिन’ नामक विष प्रयोग गरेकी थिइन्। प्रयोग गरिएको विष ‘अरन्ड’ नामको एक वनस्पतिबाट बनाइन्छ। अहिलेसम्म रिसिनको विष मार्ने औषधि अर्थात् एन्टिडट बनेको छैन। अमेरिकाकाे राेग नियन्त्रण तथा राेकथाम केन्द्रका अनुसार रिसिनले ३६ देखि ७२ घण्टाभित्र मानिसको ज्यान लिन्छ। 

यसअघि सन् २०१४ मा बाराक ओबामालाई पनि मिसिसिपीका एक व्यक्तिले रिसिनकाे विष मिसाएर चिठी पठाएका थिए। त्यतिबेला अदालतले ती व्यक्तिलाई २५ वर्ष जेल सजाय सुनाएको थियो।