जोगीका चटक: बोल्नुपर्छ सचेत वर्ग

वीरेन्द्र र ऐश्वर्यले पनि साई बाबाबाट सुनकै गहना–गुरिया 'जादु'मार्फत उपहार पाएका थिए। सर्वसाधारणले चाहिँ खरानीमै चित्त बुझाउनुपर्थ्यो। ९६ वर्षको उमेरमा 'समाधि लिन्छु' भनेका साई बाबा ८४ वर्षमै बिते।

जीवनको पछिल्लो कालखण्ड काठमाडौँको शिवपुरीमा गुजारेका शिवपुरी बाबा १३६ सम्म वर्ष बाँचेको दाबी उनका अनुयायीहरू गर्छन्। कसरी बाँचे त्यति लामो समयसम्म ती बाबा? अनुयायी, भक्त र आस्तिकहरू भन्छन्, योग–साधना गरेर। अनि फेरि सनातन–हिन्दु धर्मका उति प्रकाण्ड विद्वान विवेकानन्दचाहिँ किन ३९ मै बिते? शिवपुरी बाबाभन्दा सिद्ध मानिने र सनातनीका प्रमुख प्रवर्तककै रूपमा लिइने आदि शंकराचार्य भने जम्मा ३२ वर्ष बाँचेको उल्लेख छ।  

प्रश्न उठ्छ, शिवपुरी बाबा आफ्नो योगको बलले त्यति लामो समयसम्म बाच्न सके भने विवेकानन्द, स्वामी नारायण र आदि शंकराचार्यचाहिँ किन अल्पायुमै मरे? उहाँहरूले चाहिँ योग बलको साधना गर्नै जान्नुभएन कि? अनुयायीहरूले फेरि तर्क गर्लान्:  उहाँहरू थोरै समय लिएर यस धरातलमा अवतरित हुनुभएको हो। उसो त, शिवपुरी बाबा त्यति धेरै उमेर बाँचेकै हुन् भन्ने प्रमाण हामीसँग छैन।  

दस्ताबेज–प्रमाणका आधारमा विश्वमा सबैभन्दा बढी बाच्ने व्यक्ति जीँ लुई कैलमेन्ट नामकी फ्रान्सेली महिला थिइन्, जो १२२ वर्ष र  १६४ दिन बाँचिन्। दीर्घायु हुनु र अल्पायुमै मर्नु अनेक संयोगको योग हो। स्वास्थ्य, रोग प्रतिरोधात्मक क्षमता, जिन, नियमित भोजन, पानी, शारीरिक अभ्यास, आराम तथा प्राकृतिक दुर्घटना, विपत्तिबाट बच्नु या समयमै कुशल चिकित्सकबाट उपचार पाउने विषय नै व्यक्तिको लामो आयुसँग सम्बन्धित हुन्छ।   

तर आस्थामा विश्वास प्रमुख हुन्छ। तर्क र विज्ञानलाई खासै ठाउँ हुँदैन। विज्ञान र आस्थाबीचको फरक नै यही हो। विज्ञानले प्रमाण खोज्छ। आस्थामा आफ्ना गुरु या शास्त्रले जे भन्छ, त्यो संदेहातीत हुन्छ। गुरुहरूको विचारलाई वचनाम्रित मानिन्छ। सन्देश र शंकालाई पाप ठानिन्छ। त्यहाँ प्रश्न गर्ने ठाउँ हुँदैन। गुरु सबै कुराका ज्ञाता हुन्छन्। एक अर्थमा आस्थामा फलामे या फौजी अनुशासन हुन्छ। बस त्यहाँ गुरु र गुरुका वचनमा आधारित भएर गीत र भजन गाइन्छ। 

आदर्श, व्यवहार र समभाव
महात्माहरू हरेक कुरामा  समभाव राख्छन् भनिन्छ। गीतामा भनेझैँ उनीहरू स्थित प्रज्ञ हुन्छन् र गलत काम गर्दैनन्। ठूला र सानामा भेदभाव राख्दैनन्। उनीहरूमा समवृत्ति हुन्छ। तर के भनिएझैँ  उनीहरू समभाव राख्छन्? आफैँले प्रवचनमा व्यक्त गर्ने अभिव्यक्तिलाई व्यवहारमा उतार्छन्? 

व्यवहारमा के देखिन्छ भने, तिनका प्रवचन अनुयायी या भक्तलाई आकर्षित गर्ने प्रयोजनका लागि हुन्छन्। बाहिर काम, क्रोध, लोभ र मोह छाड्न आग्रह गर्ने यिनीहरूमध्ये अधिकांश धन सञ्चय गर्छन्। भित्रैभित्रै ऐयासी जीवन बिताउँछन्। लालसी र दूषित हुन्छन्। अनि कति त अपराध, यौन दुर्व्यवहार र लागुऔषधको कारोबारमा संलग्न देखिन्छन्। अहिले पनि भारतीय जेलहरूमा प्रशस्त ‘चटके बाबा’हरू छन्। 

समभावको कुरा गरौँ। शिवपुरी बाबा सिधै बेलायतकी तत्कालीन रानी भिक्टोरियासँग बिनारोकतोक भेट्न सक्थे अरे। राजा वीरेन्द्र त बारबार खप्तड बाबालाई भेट्न गइरहन्थे। 

साई बाबा र रामदेव
साई बाबासँगै वीरेन्द्र र ऐश्वर्यले बसेर खिचेको तस्वीर हामीमध्ये कतिपयले देखेकै हो। देश विदेशका शक्तिशाली मान्छे स्वयं नै बाबाजी र माताजीलाई भेट्न जालान् र तिनले 'भेट' पनि देलान्। यत्तिकै आलोचना गर्नुपर्छ भन्ने भएन, तर ती बाबाजीकहाँ सर्वसाधारणहरूले पनि त्यस्तै पहुँच पाउँछन्?

मैले धेरै जना साइभक्तहरू भेटेको छु, जो तिनलाई भेट्न धेरै पटक भारतको पुट्टपर्ती धाए, तर कहिल्यै भेट नपाएर दिक्क भएर फर्किए। एकाधले भेट्न पाए, तर चिट्टामा परेर। नेपालबाट गएका अन्य मझौला खालका नेता र मन्त्रीहरूले सहजै तिनको दर्शन पाउँथे। तर सोझा र निमुखा जनले  ती बाबाहरूले ठूलाठालु र आफूमाथि गरेको भेदभाव कहिले पनि बुझेनन्, न बुझ्नै कोशिश गरे।

साई बाबा एक कुशल जादुगर थिए। जादु गरेर उनी हातका बाहुलाभित्रबाट कहिले विभूति (खरानी), कहिले सुनको सिक्री र कहिले सिको घडी निकालेर अनुयायीहरूलाई छक्क पार्थे। सुनका सिक्री र घडीहरूचाहिँ बडेबडे धनाढ्य र सम्पन्नले मात्रै हात पार्थे। तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यले पनि साई बाबाबाट सुनकै गहना–गुरिया 'जादु'मार्फत उपहार पाएका थिए। तर सर्वसाधारणले चाहिँ खरानीमै चित्त बुझाउनुपर्थ्यो। 

कतिपय उनका भक्तहरू त घरको भित्तामा झुन्डाएको उनको तस्वीरबाट समेत विभूति खसेको कुरा सुनाउँथे। शायद धेरै समयसम्म नहल्लाएको र नचलाएको तस्वीरबाट धुलो खस्दा पनि त्यो अन्ततः विभूति ठहर्थ्यो। आफ्नो जादुगरीमार्फत सिधासाधा जनलाई प्रभावित पारेर उनीहरूको विश्वास र आस्थाको दुरुपयोग गर्न साई बाबा औधी निपुण देखिन्थे। 

उनीमाथि धेरै किसिमका आरोप र अभियोग हुँदाहुँदै पनि राजनीतिक शक्तिको आड पाएर निर्धक्क अगणित भक्त र अनुयायीहरूमाझ सम्मान र प्रतिष्ठामा झुम्न पाइरहे। उनीमाथि कालो धनलाई वैध बनाएको, यौन अपराध र हत्या आदिका आरोप थिए, तर उच्च राजनीतिक ओहदामा रहेकाहरू नै उनका भक्त र अनुयायी भएका कारण उनीमाथि कसैले केही गर्न सम्भव थिएन। ९६ वर्षको उमेरमा 'समाधि लिन्छु' भनेर सार्वजनिक घोषणा गरेका उनी ८४ वर्षमै बिते। 

जब यिनी २४ अप्रिल २०११ मा बिते, उनका कोठाहरूमा करोडौँ नगदका साथै सुनचाँदीका थुप्रा भेटिए। त्योबाहेक हीराका गहना, ५०० जोर जुत्ता र अत्यन्त महँगा अत्तरका बोतलहरू भेटिए। 

बाबा रामदेवको कुरो अर्कै छ। योग शिक्षा र आयुर्वेदको प्रवर्द्धनका नाममा उनले सर्वसाधारणबाहेक कैयौँ विद्वत् वर्गलाई पनि उल्लु बनाएर अर्बौंको मालिक बनेका छन्। कोरोनाकालको मौका छोपेर यिनले कोरोनिल नामको भ्रमपूर्ण औषधि बजारमा मात्रै ल्याएनन्, मोदी सरकारको आडमा 'सहायक औषधि'का नाममा भारतभित्र बेचेर कुस्त कमाए। तर विश्व स्वास्थ्य संगठन, शोधकर्ता, चिकित्सक तथा वैज्ञानिकहरूले त्यसलाई औषधिका रूपमा स्विकारेनन्। उनले भने विश्व स्वास्थ्य संगठनले नै औषधिलाई अनुमति दिएको भन्दै सर्वसाधारणलाई झुक्क्याएर सो वस्तु बेचिरहे। नेपालका तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पनि त्यो तथाकथित औषधिका केही प्याक अनुदानका रूपमा स्विकारेर फोटो खिचाए। धर्मका नाममा धन्दा गर्न सिपालु रामदेव त्यस्ता जाली फकिर हुन्, जो आफैँ उपचारका लागि अत्याधुनिक अस्पताल जाने गर्छन्। 

'लोकल बाबा'हरूको लोभ
एक अनुमानअनुसार एक अर्ब जनसंख्याको भारतमा एक करोड 'बाबा र मातापिता' छन्। नेपालमा पनि त्यस्ता भारतीय बाबाको सिको या अनुकरण गर्दै अकुत धन कमाउन खोज्ने र कमाउनेको कमी छैन। केही वर्षअघि मात्र चितवनमा कमलनयनाचार्य नामका 'साधु'ले चितवन राष्ट्रिय निकुञ्जको ३७ हेक्टर जमिन अतिक्रमण गरेर आफ्ना लागि विलासी आश्रम बनाउन सफल भए।

चितवनवासीको आपत्ति र विरोध हुँदाहुँदै पनि तत्कालीन ओली सरकारसँगको पहुँच र प्रभावका कारण उनलाई कसैले केही गर्न सकेन। जंगल फाँडेर बिलासी आश्रम बनाइ छाडे। अहिलेसम्म पनि आश्रम बिस्तारका लागि बन अतिक्रमण भइरहेको सुन्निन्छ। यिनैले बागलुङमा पञ्चकोट नामक धाम बनाएर त्यहाँ १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माण र सीसमहलजस्तो अति विलासी भवन बनाउन कृषियोग्य जमिनको दुरुपयोग गरेका छन्। 

नेपालमा केही वर्षअघि लामो समय भोकै बसेर साधना गरेको भन्दै रामबहादुर बम्जन नामका युवाले नेपाल र नेपाल बाहिरसमेत सनसनी फैलाए। त्यसपछि उनको पछि कैयौँ व्यापारी र राजनीतिक नेतासमेत लागिपरे। बम्जन अहिले यौन दुराचार र हत्याको आरोपका फरार अभियुक्त हुन्। 

स्वामी आनन्द अरुण नामका ओशोका 'आधिकारिक' अनुयायी छन्, जो मिडियादेखि राजनीतिक हिमचिम बढाएर मोजमस्तीको जीवन बाँचिरहेका छन्। काठमाडौँ–नागार्जुनको सार्वजनिक  जमिन हड्पेर रिसोर्ट चलाइरहेका यिनी बेलाबेला नाम चलेका र उदाएका नेतालाई आश्रममा लैजान्छन् र डोलीमा हालेर घुमाउँछन्। अहिले पनि फेसबुक र टिकटकमा दैनिक लाइभमा ‘सम्मोहन’मा पारेर युवायुवतीलाई भुईंमा लडाउँछन्।    

माटोमुनि बसेर साधना गरेका भनिएका सिद्धबाबा भनेर नाम कमाएका कृष्णदास गिरी नामका 'साधु' हाल कोशीको चतरामा सरकारी जमिन हडपेर आफ्नो विशाल आश्रम बनाएर बस्न सफल छन्। उनीमाथि बलात्कारको आरोप थियो र छ। तर प्रधानमन्त्री पुष्पकमल दाहालदेखि पूर्वराष्ट्रपति विद्या भण्डारी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वसभामुख कृष्णबहादुर महरा, कांग्रेस नेता आरजु देउवा आदिको आडमा उनी आरोप र अभियोग हुँदाहुँदै पनि बेलाबेला पशुपतिनाथ मन्दिरमै आएर प्रवचन र आशीर्वाद बाँडिरहेका छन्। 

केही महिनाअघि मात्र सीमान्त र प्रकाश भुजेल नामका उडन्ते गुरु उदाए। आँखा हेरेरै रोग निदान गरिदिन्छु भन्ने सीमान्त र छोएकै भरमा निको पार्ने भुजेल अहिले टिकटकबाटै धन्दा चलाइरहेका छन्। अहिले चौधरी समूहको आग्रह र अग्रसरतामा भारतको एक प्रख्यात (कुख्यात!) बाबा चौधरीले नै बनाएको नवलपरासीको 'शाश्वत धाम'मा आइसकेका छन्। 

बागेश्वर धाम सरकार/महाराज भनेर आफूलाई परिचित गराउने धीरेन्द्रको विगत के थियो भन्नेबारे मिडियाहरूले प्रशस्त उल्लेख गरिसकेका छन्। भारतमा धार्मिक भड्काऊ र साम्प्रदायिक दंगाका लागि सार्वजनिक रूपमा आह्वान गर्ने तिनलाई चौधरीहरूले किन बोलाए र सरकारले समेत अनुमति दियो भन्ने प्रश्न खडा भएको छ। धर्मनिरपेक्ष राज्यमा महिला र दलितलाई निन्दा गर्ने जोगीहरूलाई रातो पर्दा किन बिछ्याइयो? 

हाम्रो देशको दुर्भाग्य के छ भने, कोही चर्चामा रहेको र जादुकला जान्ने 'बाबा–माता'को दर्शन पाउन भोला भाला सधैँ लालायित छन्। जीवनमा सधैँ दुःख र कष्ट भोगेका जनलाई त्यस्तो 'महावतार' चाहिएको छ, जसले तिनको दुःख हरोस्। तर दुःखको कष्ट हटाउने बाचा गर्ने यस्ता जोगीहरू तपाईंका घरआँगन आइपुग्छन्। पैसा लुँड्याएर केही वर्ष अलप हुन्छन्। अन्यत्र पुगेर यस्तै पासो थाप्छन्।  

तर दुःखको कुरा, क्यान्सरदेखि असाध्य रोगहरूबाट मुक्त गरिदिने हावादारी दाबी मात्र होइन, धार्मिक दंगाफसादको आह्वान गर्ने ‘बागेश्वर मार्का’का मान्छेलाई भौतिकवादी भनिएका कतिपय हाम्रा नेताजनसमेत स्वागतका लागि हरदम तयार हुन्छन्। यस्ता कपटी बाबा र माताको चक्रव्यूहबाट हामी कहिले मुक्त हुने? अन्धविश्वासको यो मार्केटिङविरुद्ध युवावर्ग कहिले बोल्ने? मार्टिन लुथरले भनेका थिए: अत्याचार र क्रूरता सबैभन्दा दुखान्त होइन। अत्याचार र क्रूरतामा समेत असल मान्छेहरू मौन बस्नु दुखान्त हो। 

गलतविरुद्ध बोल्नु असल र सचेत मानिसको चरित्र हो। केही आवाज उठेकै छन्। तर पुगेको छैन। हामी सबैले अन्धश्रद्धा र अन्धविश्वासविरुद्ध कुनै हालतमा बोल्न छोड्नु हुँदैन। अकर्मण्यताको परिणाम भयावह हुन सक्छ।