भक्तपुर अस्पताल हाताभित्र अदक्ष जनशक्तिद्वारा औषधि बिक्री

औषधि पसलमा तीनवर्षे फार्मेसी उत्तीर्ण गरेको व्यक्तिले मात्रै औषधि बिक्री गर्न पाउने सरकारी नियम भए पनि साझा औषधि लिमिटेडले भने सरकारी नियमविपरीत कार्यालय सहयोगीलाई औषधि बिक्रीका लागि राखेको पाइएको छ।

भक्तपुर– भक्तपुर अस्पतालको हाताभित्र साझा स्वास्थ्य सेवाको नाममा सञ्चालित औषधि पसल अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ। जिल्ला समन्वय समिति भक्तपुरले शुक्रबार जिल्लाका सरकारी अस्पतालमा गरेको अनुगमनका क्रममा भक्तपुर अस्पतालको हाताभित्र सञ्चालित साझा औषधि पसलमा औषधि बिक्री गर्ने जनशक्तिसमेत अदक्ष रहेको पाइएको हो। 

औषधि बिक्री गर्ने कुनै पनि औषधि पसलमा तीनवर्षे फार्मेसी उत्तीर्ण गरेको व्यक्तिले मात्रै औषधि बिक्री गर्न पाउने सरकारी नियम भए पनि साझा औषधि लिमिटेडले भने सरकारी नियमविपरीत कार्यालय सहयोगीलाई औषधि बिक्रीका लागि राखेको पाइएको हो।

जिससका प्रमुख ईश्वर थापाले जिल्लामा रहेका क्यान्सर अस्पताल, सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र भक्तपुर अस्पतालको अनुगमन गर्दा भक्तपुर अस्पतालमा साझाले बिक्री गर्ने औषधिमै मानवीय स्वास्थ्यमाथि खेलबाड गरेको पाइएको बताए। साझा औषधि भक्तपुर अस्पतालसँग धेरै वर्षअगाडि गरेको सामान्य सम्झौताका आधारमा जबरजस्ती र अवैधरूपमा बसेको अस्पताल प्रशासनले अनुगमनका क्रममा जानकारी दिएको उनले बताए। 

जिसस प्रमुख थापाले भने, “अस्पतालभित्र औषधि बिक्री गर्ने साझाले लापरबाही गरेको छ, वर्षौंदेखि औषधिसम्बन्धी ज्ञान नै नभएको अदक्ष व्यक्तिलाई राखेर औषधि बिक्री गरेको पाइएको छ, यसबारेमा प्रमुख जिल्ला अधिकारी र सम्बन्धित निकायलाई जानकारी गराएका छौँ, त्यसरी मानवीय स्वास्थ्यमाथि खेलबाड गर्न दिनुहुँदैन, बन्द गराउने हामीलाई अधिकार नभएर हो, त्यसैले साझालाई कारबाही गरेर तत्काल उक्त औषधि पसल बन्द गराउनु सरकारसँग माग गर्दछौँ।” 

उनले केही दिनअगाडि मात्रै पनि स्वास्थ्य मन्त्रालयको टोली नै आएर अदक्ष कामदार राखेको भन्दै बन्द गराए पनि मन्त्रालयको टोली फर्किए लगत्तै साझाले फेरि औषधि बिक्री गरेको अस्पतालले जानकारी दिएको बताए।

गत साउन १९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रको नेतृत्वमा मन्त्रालयका महाशाखा प्रमुख डा. मदन उपाध्याय, स्वास्थ्य मन्त्रालयका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन शाहलगायतको टोलीले साझा स्वास्थ्य सेवाको नाममा सञ्चालित औषधि पसलको सटर बन्द गराएको थियो।

मन्त्रालयको टोलीले गरेको अनुगमनमा साझाले आफ्नो कार्यालय सहयोगी प्रह्लाद ढकाललगायत अदक्ष जनशक्तिबाट औषधि बिक्री गरेको पाइएपछि तत्कालै पसल बन्द गराएर फर्किए पनि टोली फर्किएलगत्तै पुनः पसल खुलाएर औषधि बिक्री जारी राखेको थियो। अस्पतालले यसबारेमा मन्त्रालयलाई जानकारी गराए पनि कुनै कारबाही नभएको, साझाले जबरजस्ती भाडा नतिरी अस्पतालको भवन हडपेर बसेको अस्पताल प्रशासनको भनाइ छ। 

अस्पताल विकास समितिका अध्यक्ष रमन कायस्थले आफू आएपछि पनि अस्पताल प्रशासनले पटकपटक साझालाई भक्तपुर अस्पतालको परिसर छाड्न पत्राचार गरेको र यसबारेमा मन्त्रालयमा जानकारी गराएको भए पनि कुनै कारबाही नभएको र साझाले भवन पनि नछाडेको जानकारी दिए।