नेपाल प्रहरीका एआईजीहरूको सरुवा: उपत्यकामा थापा, ज्ञवाली कार्य विभागमा

सीआईबी प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरि र अपराध अनुसन्धान विभागका टेक बहादुर तामाङलाई भने यथावत राखिएको छ।

काठमाडौँ– सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा गरेको छ।

केही दिन अघिको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको हो। मन्त्रिपरिषद् स्रोतका अनुसार प्रशासन विभागका प्रमुख दीपक थापालाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा सरुवा गरिएको छ। 

यस्तै, कार्य विभागबाट प्रशासन विभाग प्रमुखमा मिरा चौधरी, उपत्यका कार्यालयबाट कार्य विभागमा एआईजी श्याम ज्ञवाली, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट टेकप्रसाद राई मानवस्रोत विभागमा र मानवस्रोत विभागका सन्दिप भण्डारीको प्रतिष्ठानमा सरुवा भएको हो।

यसैगरी, सीआईबी प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरि र अपराध अनुसन्धान विभागका टेक बहादुर तामाङलाई भने यथावत राखिएको छ।

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यो अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूलाई जिम्मेवारीबाट हटाउन प्रधानमन्त्री र गृहमन्त्रीलाई दबाब दिएको खबर केहीदिनअघि बाहिर आएको थियो।

त्यसलगत्तै एआईजीहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय भएको हो। गृहमन्त्रालय स्रोतका अनुसार अब एसएसपीहरूको पनि जिम्मेवारी हेरफेर गर्ने तयारी भइरहेको छ।