बाजुरामा हवाई उडान सुचारु, दैनिक २ भन्दा बढी उडान हुने

मौसम अनुकूल भए अब बिहान ६ देखि साँझ ६ बजेसम्म उडान सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

बाजुरा– कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न दिएको निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सुचारु भएको हो।

वर्षा यामको समयमा जोखिम उडान हुने भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १४ गतेदेखि सुदूर र कर्णालीका पहाडी र हिमाली जिल्लाको हवाई उडानमा रोक लगाएको थियो।

यसको चौतर्फी आलोचना तथा जनगुनासोपछि मौसम अनुकूल भए सुदूर र कर्णालीका विमानस्थलमा १२ः३० बजेपछि पनि उडान भर्न पाइने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण कोल्टीका प्रमुख वीरबहादुर बुढाले जानकारी दिए। मौसम अनुकूल भए अब बिहान ६ देखि साँझ ६ बजेसम्म उडान सञ्चालन हुनेछन्।  

“विमानस्थलको ‘अब्जेक्सन आवर’ ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म हो, जुम्लाको ‘जुम्ला’ विमानस्थल बाहेक सुदूर र कर्णालीका सबै विमानस्थलको ‘अब्जेक्सन आवर’ बिहान ६ देखि दिउँसो साढे १२ बजेसम्म हो,” उनले भने, “जनगुनासोपछि उक्त नियम हटेको छ।”

प्राधिकरण कोल्टीका अनुसार बाजुराको विकट क्षेत्रमा रहेको ‘कोल्टी’ विमानस्थलबाट दैनिक दुईदेखि बढी नियमित हवाई उडान हुन्छन्। 

कोल्टी–नेपालगन्ज,नेपालगन्ज–कोल्टी,कोल्टी–धनगढी र धनगढी–कोल्टीका लागि नेपाल एयरलाइन्स, सीता एयर, तारा एयर र समिट एयरले कोल्टीबाट उडान भर्दै आएका छन्।