एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारबाट, पार्टीको आगामी कार्यभार मुख्य अजेन्डा

एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले आइतबार र सोमबार पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको छ।

काठमाडौँ– सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारबाट शुरू हुने भएको छ।

शनिबार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो। त्यसैगरी, भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ।

दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य अजेन्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय गर्ने उनले बताए।

“भोलि र पर्सिको पोलिटब्युरो बैठकमा वर्तमान परिस्थिति, वर्तमान राजनीति अथवा समसामयिक परिस्थिति र हाम्रो पार्टीको आगामी कार्यभार नै हाम्रो मुख्य विषय बनेको छ। यसैको सेरोफेरोमा पोलिटब्युरो सदस्यहरूले आफ्नो धारणा राख्नु हुनेछ। र, पर्सी हामी यो बैठकको समापन गर्नेछौँ,” उनले भने।

नेकपा एस आगामी माघमा सम्पन्न हुने गरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। उनले सम्मानित नेता झलनाथ खनालले नेतृत्वका लागि आफ्नो दाबी हुने/नहुने भन्ने कुरा महाधिवेशन हलले नै तय गर्ने बताए।