लोकरिझ्याइँवाद सर्वसाधारणका लागि 'म सबै गर्छु र जे पनि गर्न सक्छु' भनेर आएको छ, तर मानिस गरिब कसरी हुन्छ? विभेद र शोषणका ऐतिहासिक र राजनीतिक कारणबारे बोध छैन।
खासगरी व्यावसायिक वित्त बजार र पुँजीगत सट्टे बजारमा कतिपय लगानीकर्ता/क्रेताहरूले छिट्टै नाफा प्राप्त गर्न ‘द ग्रेटर फुल थ्योरी’ (महामूर्ख सिद्धान्त) अपनाई वित्तीय सम्पत्ति (व्यावसायिक पुँजी)को छनोट गरी ‘बोन्ड’, ‘स्टक’, ‘सेक्युरिटी’, धितोपत्र वा अन्य सम्पत्ति खरिद गर्ने गर्छन्। उनीहरूले यस्तो महामूर्ख वित्तीय व्यवहार किन देखाउँछन् होला भन्नेतर्फ पुँजी बजारमा केही अध्ययन पनि भएका छन्।
यस अवस्थामा खासगरी क्रेता अर्थात् खरिदकर्ताले उक्त परिसम्पत्तिको वास्तविक मूल्य (इनट्रिन्सिक भ्यालु)भन्दा धेरै गुणा बढी अर्थात् ‘ओभर भ्यालुड’ पुँजीगत वस्तु खरिद गर्छ। शुरूमा यो खरिद गर्ने क्रेता मूर्ख हुन्छ र उसले यो सम्पत्ति केही समय 'होल्ड' गरेर राख्न सकियो भने बजारमा अर्को महामूर्ख (ग्रेटर फूल)लाई बेच्न सकिन्छ र छोटो अवधिभित्रै उच्च नाफा कमाउन सकिन्छ। यही बजारवादी मनोविज्ञानले गर्दा उसले उक्त कम्पनीको 'अर्निङ रेसियो' तथा वित्तीय अवस्था राम्रो छ/छैन या सोको विगत र वर्तमान व्यावसायिक प्रवृत्ति, नाफा वा घाटाको अवस्था, कम्पनीको प्रतिफल र लगानी जोखिमको सम्भावनाजस्ता महत्त्वपूर्ण आर्थिक सूचनाबारे मतलब नै गर्दैन।
पहिले–पहिले प्राकृतिक संसाधनहरूको गणना गर्ने पद्धति राम्ररी विकास नहुँदा यही महामूर्ख पद्धतिलाई ती प्राकृतिक स्रोतसाधनहरू (खनिज पदार्थको ठेक्का, वन कटानी ठेक्का वा सामुद्रिक माछाको ठेक्का वा यस्तै खाले अन्य)मा प्रशस्त लाभको सम्भावना देखेर टाठाबाठाहरू यस्ता अधिमूल्यांकित सरकारी सम्पत्ति हात पार्न लाग्थे। अहिले भने 'क्रिप्टोकरेन्सी' बजार वा 'बिटकोइन' बजार, 'रियल स्टेट' वा अन्य 'अनलाइन सेक्युरिटी' बजारहरूमा यो सिद्धान्त खुब प्रचलित छ। यसमा 'क्राउड साइकोलोजी'ले मुख्य भूमिका खेलेको हुन्छ भनी धेरै विद्धानले अभिमत जाहेर गरेको पाइन्छ।
'राजनीतिक शेयर बजार'मा नयाँ दलहरू
यहीँनिर राजनीति बजारबारे पनि नयाँ तर्क प्रवेश गरेको छ। राजनीतिमा पनि पुँजी लगानी हुने अनि केही उच्च घरानियाँ एवं अन्य टाठाबाठा बिचौलियाले सोको शेयर खरिद गर्ने र पछि सोझासाझा जनतालाई महामूर्ख बनाइ उक्त शेयर बिक्री गर्ने गरेको 'मार्केटिङ अफ पोलिटिको क्यापिटल' भन्ने ‘हाइपोथेसिस’ आएको छ। यस हाइपोथेसिसले राजनीतिक दललाई नाफाखोर कम्पनीका रूपमा मान्छ भने, बिचौलिया र आमजनतालाई ती कम्पनीको शेयर किनबेच गर्ने दलाल र ग्राहकका रूपमा मान्यता दिन्छ। त्यसले राजनीति पनि छिटो नाफा कमाउन सकिने एक व्यवसायका रूपमा मान्छ र राजनीतिक पुँजी बजारमा महामूर्ख प्रणालीको उत्परिवर्तन भएको भ्रम आमजनतामा सम्प्रेषण गर्न सफल हुन्छ। यो बजार युरोप, अमेरिका, दक्षिण अमेरिका र भारतलगायत अन्य गरिब मुलुकमा पनि मज्जाले देख्न पाइन्छ। नेपाल पनि यतिखेर यस्तो बजारको 'प्लेटर्फम' भएको छनक देखिन्छ। कतै नेपाली जनता पनि यही महामूर्ख सिद्धान्तको चक्रव्यूहमा परिराखेका त छैनन्? होइन भने किन आममानिसहरू भीड मनोविज्ञानको पछि लागिरहेका होलान् र अधिक राजनीति उन्मुख भएका होलान् त?
सोही आलोकमा सानो बहस यहाँ उठाइएको हो। नेपाली राजनीतिमा खासगरी सामन्तवादी शाही घरानियाँतन्त्रको अन्त्य (विसं. २०४६ साल)पछि आएको प्रजातान्त्रिक र वामपन्थी घरानियाँको राजनीति मिश्रित बजारको अन्तरंग, यी राजनीतिक कम्पनीहरूभित्र भएको कर्पोरेट पुँजी निवेश, बिचौलिया चलखेल र आमजनताले समेत खरिद गरेका शेयर स्वामित्वको मूल्य निक्कै राम्रो रहेको मानिन्थ्यो। यी दुवै समूहभित्रका केही मुट्ठीभर राजनीतिज्ञ र बिचौलियाहरू यही राजनीतिक सट्टे बजारबाटै अकूत धन थुपार्न सफल पनि भएको देखिन्छ।
तर अहिले आएर यो परम्परागत राजनीतिमा लगानी गर्नुभन्दा पपुलिस्ट (लोकरिझ्याइँवादी) सिद्धान्त लिएर आएका नयाँ दल र मूल पात्रहरूमा आमजनताको चासो बढेको देखिन्छ। नेपाली कांग्रेस, एमाले र माओवादीलगायतका पुराना राजनीतिक कम्पनीको भन्दा नयाँ आएका रवि, बालेन, हर्क, डा. सीके र रन्जिता श्रेष्ठहरूको 'कम्पनी'को शेयरप्रति आकर्षण बढेको छ। साँच्चै भन्दा आमजनतामा कुनै उद्योग, फर्म वा व्यावसायिक संस्थामा लगानी गर्नुभन्दा नयाँ राजनीतिक पार्टीको शेयर लिँदा नै उच्च प्रतिफल आउने सम्भावना रहेको बुझाइ देखिन गएको छ। जनताले उक्त राजनीतिक दलको दार्शनिक सिद्धान्त, सोको प्रजातान्त्रिक वा सामाजिक–सांस्कृतिक मूल्यमान्यताजस्ता कुराप्रति मतलबै गर्न छाडिदिएका छन्।
राजनीतिक दलहरू आर्थिक लुटतन्त्र चलाउन खप्पिस छन्, सत्तामा आउँदा गरिने असंख्य नयाँ पदको सिर्जना, सांसद र मन्त्री नियुक्ति, सरुवा–बढुवा, आर्थिक अपचलन, नीतिगत भ्रष्टाचार, सरकारी सम्पत्ति र प्राकृतिक संसाधनको ब्रह्मलूट, राष्ट्रिय बजेट, ढुकुटी र वित्तीय स्रोतमा हालीमुहालीजस्ता अनगिन्ती माध्यमबाट मज्जाले छोटो अवधिमा उच्च नाफा (लाभ) हुन्छ। आफ्नो दल सत्तामा आए अहिलेको लगानी उच्च प्रतिफलमा तुरुन्तै परिणत हुन्छ भन्ने महामूर्ख सिद्धान्त हाम्रो समाजमा व्यापक रूपले फैलन गएको देखिन्छ। खासगरी राजनीतिलाई कमाऊ पेसा (लगानी र दलाली गर्ने प्रक्रियाजन्य पेसा) बनाउनेहरू यसमा अलि बढी नै लाग्ने गरेको देखिन्छ।
ऐतिहासिक रूपले सामुदायिकीकरणको राजमार्गमा अघि बढिरहेको नेपाली समाजको 'सोसल साइकोलोजी'लाई लोकरिझ्याइँको बहसले नयाँ मोडमा पुर्याएको छ भने, यसैलाई भीडतन्त्र वा 'क्राउड साइकोलोजी'तर्फ लैजाने प्रयत्न गर्ने उग्रतर्कवादी झुन्ड पनि जतासुकै देखिन्छन्। उल्लेखित सबै सामाजिक गतिशीलतालाई हेर्ने हो भने हामीकहाँ राजनीतिलाई झनै विद्रुप पार्ने अरू पक्ष पनि देखिन्छन्। धेरै सामाजिक अध्येयताले क्राउड साइकोलोजी, उत्तर आधुनिकतावाद (पोस्ट मोर्डनिज्म) र लोकरिझ्याइँको एउटा मेक्ट्रिस तयार गरेका छन्। जसमार्फत उनीहरू ग्रेटर फूल थ्योरीले राजनीतिमा कसरी सघाउने रहेछ भनी गरिएको अध्ययनले निकालेको नतिजा कति यथार्थपरक होला भनी परीक्षण गर्ने तयारीमा समेत छन्।
खासगरी बेरोजगारी र मुद्रास्फीतिको चापमा पिल्सिएका एवं आर्थिक रूपमा पिछडिएका गरिब मुलुकले सामन्तवादलाई छाडेर पुँजीवादी प्रणालीमा प्रवेश गरी सोको विकास गर्दा यसको प्रारम्भिक चरणमा पुराना राजनीतिक दलहरूले संक्रमणकालीन प्रजातन्त्र वा लोकतन्त्रलाई संस्थागत रूपले व्यवस्थापन गर्न सकेका छैनन्। 'इन्स्टिच्यूसनल डेमोक्रेसी'लाई मूर्त रूपले स्थापना गर्न नसक्दा प्रजातन्त्र, लोकतन्त्र वा समावेशी एवं जनवादी शासकीय प्रणालीबाट उत्पादन हुने आर्थिक–सामाजिक लाभ उही पुरानै कुलीन वर्गकै वरिपरि फन्को मार्ने गरेकाले आममानिस सोको लाभबाट वञ्चित छन्। जसका कारण उच्चस्तरको सामाजिक निराशा पैदा भई भीडतन्त्र, लोकरिझ्याइँ एवं उत्तर आधुनिकतावादी संस्कृति सँगै झाँगिँदै गएको छ। यसले गर्दा यी मुलुकमा आधुनिक प्रजातन्त्र वा सामाजिक न्यायसहितको लोकतन्त्रले मूल बाटो बिराउने हो कि भन्ने चिन्ता उत्पन्न गराएको छ।
के हो भीडतन्त्र?
प्रख्यात फ्रेन्च समाजशास्त्री गुस्ताभ ली बनले द क्राउड: ए स्टडी अफ पपुलर माइन्ड (१८९६) भन्ने पुस्तकमा यस्तो भीडमा रमाउनेहरूलाई सामूहिक अचेतनाको माथिल्लो अवस्थामा रहने वर्ग भनी व्याख्या गरेको देखिन्छ। उनले यस प्रकारको अचेतनाले मानिसमा हर्ड मेन्टालिटी (भेडाको बथानजन्य मानसिकता) पैदा हुँदा कहिलेकाहीँ यिनीहरू विरोधीलाई भीडले कुटेर मार्ने (मोब लिन्चिङ) जस्तो घातक तहसम्म पनि पुग्ने गरेको देखिन्छ भनेका छन्।
बनले त्यस्तो अवस्थामा भीडको नेतृत्व गर्ने एउटा व्यक्तिले सबैलाई प्रभावमा राख्न सफल हुने बताएका छन्। उनले यस्तो अवस्थामा उक्त जनसमूहको स्वचेतना हराउनेसम्मको खतरा पैदा हुन्छ भनेका छन्। एकल व्यक्ति नै उक्त भीड समूहको बौद्धिकता, चेतना र दिमागी अन्तर वस्तुलाई सम्मोहनमा पारी 'डिइन्डुभिडेसन'को स्तरमा पुर्याउन सफल हुने बेनले बताएका छन्। यसले गर्दा समाजको सामूहिक कार्यक्षमता र सहयोगी मानसिकतामा ह्रास हुने र एकै जनाले लोकप्रियता हासिल गरी हजारौँ हजारलाई क्षणभरमा नियन्त्रित गर्न सक्ने पनि हुन्छ। बेनले भनेका छन्, 'फलस्वरूप समाजको सामूहिक चेतनाले काम गर्न छोड्छ र अधिनायक स्थापित हुने स्थिति आउन सक्छ, यो लोकतन्त्रको मूल मान्यताबाट विचलित भई फासीवादको यात्रामा पनि निस्कन सक्छ।'
हिटलर र मुसोलिनीको समाजवादी पार्टी पनि यसै भीडतन्त्रको पछि लाग्दै जाँदा निर्माण भएको हो भनिएको छ। अर्का समाजशास्त्री एडवार्ड बर्नीले पनि प्रोपागान्डा (१९२८) भन्ने प्रसिद्ध पुस्तकमा 'प्रजातान्त्रिक पद्धति भत्काएर कुनै अदृश्य शक्तिले फैलाएको प्रोपागान्डा नै एकदम सही हो भनी यसका पछाडि पूरै समाज केही समय दौडिरहन सम्भव छ भनेका छन्। यस्तो प्रोपागान्डा निर्माण गर्दा त्यो अदृश्य शक्तिले रेडियो, टिभी वा समाचारपत्रलाई समेत एकाधिकारमा लिन सफल हुन्छ भनिएको छ।
उतिखेर सञ्चारमाध्यमले नै प्रोपागान्डा निर्माणमा उल्लेख्य भूमिका खेलेकाले राजनीतिक प्रोपागान्डाका आविष्कारक पीजे गोयबल्सले झूटको खेती फस्टाउने तर्क दिँदा केसम्म भनेका छन् भने, ‘यदि तिमीले मलाई सबै मिडियामा कब्जा गर्न दिन्छौ भने मैले सम्पूर्ण मानिसलाई सुँगुरको बथानमा फेरिदिन सक्छु।’
आजको दिनमा इन्टरनेट र डिजिटल मिडियाको फ्युजनमार्फत चर्को स्वर र शैली गलत विचार फैलाइने गरेको छ। फेसबुक, ट्विटर, युट्युब, इमेल, टिकटकजस्ता सामाजिक सञ्जालभरि यस्ता प्रोपागान्डाका खेती भइरहेको देखिन्छ। सन् १९९७ मा जेआर फिग्नर र के. विश्वनाथले भारतमा मास–मिडियाको प्रभावबारे अध्ययन गरेका थिए। अध्ययनको मुख्य निचोड थियो, ‘आम सञ्चारमाध्यमले सर्वसाधारणमा अजेन्डा सेटिङ गर्न र धारणा निर्माणको खेती गर्न सजिलै सक्दा रहेछन्। मिडिया समाजप्रति कत्ति पनि जिम्मेवार हुनु नपर्ने रहेछ।’ सिग्मन्ड फ्रायडले अन्कसियस माइन्ड (१९१५) मा यस्तो बेला समाजले अस्थायी रूपमा सामाजिक विवेकसमेत गुमाउँछ भनेका छन्। उनले भीड समूहले यस्तो बेला समाजमा 'इगो' र 'सुपर इगो'समेत पैदा गर्न सफल हुन्छन् भनी उल्लेख गरेका छन्।
यसरी मास–मिडियालाई उपयोग गरी उद्विकास भएको अचेतन अवस्थाको 'क्राउड साइकोलोजी'ले नै ग्रेटर फूल सिद्धान्तलाई मलजल गर्छ भनिएको छ।
फैलँदो उत्तरआधुनिक संस्कृति
खासगरी सत्रौँ–अठारौँ शताब्दीमा युरोपमा विद्यमान सामन्तवादी प्रणाली र पोप/चर्चको हालीमुहालीलाई चुनौती दिँदै आडम स्मिथ, भोल्तेयर, रुसो, जोन लक र इमान्युअल कान्टजस्ता प्रबुद्ध दार्शनिकले 'इन्लाइटमेन्ट' (ज्ञान/चेतना)को सिद्धान प्रतिपादन गरे। त्यसले उक्त समाजमा ठूलो प्रभाव पार्यो र समाजको उत्पादनसहित शासकीय संरचनासमेत परिवर्तन गर्नेतिर अग्रसर बनायो। उन्नाइसौँ शताब्दीमा पुग्दा समग्र युरोपले सामन्तवादसँग नाता सम्बन्ध तोड्यो र विज्ञान, प्रविधि तथा औद्योगीकरणको विकासमार्फत उच्च उत्पादन गर्ने पुँजीवादी प्रणाली अपनायो। यसरी विज्ञान र प्रविधिको ज्ञानसहितको उत्पादन प्रणाली र पुँजीवादले नै समस्त मानव समाजलाई सुख र प्रगति दिन सक्छ भनी इन्लाइटमेन्ट सिद्धान्त अघि सारियो। यसलाई आधुनिकतावादकै पर्याय बनाइएको थियो।
प्रशस्त वस्तु उत्पादन, उपभोग र प्रतिव्यक्ति आयमा बढोत्तरी हुने यो आधुनिकतावादलाई चुनौती दिन बिसौँ शताब्दीमा आइपुग्यो– उत्तर आधुनिकतावाद (पोस्ट मोर्डनिज्म)। उत्तर आधुनिकतावादले विनिर्माणवादलाई पनि सँगसँगै साथी बनाएको थियो। खासगरी विज्ञान र प्रविधिले मात्रै मानिसलाई सुखी राख्न नसक्ने, पुँजीवाद पूर्ण सत्य नभएको उत्तरआधुनिकतावादको ठहर थियो। आधुनिकता एकलकाँटे र यान्त्रिक ज्ञानले बाँधिएको हुने र वास्तविक सत्य त बहुध्रुवीय, सापेक्षिक, बहुसांस्कृतिक, सिर्जनामय, विविधतायुक्त हुने उसको ठहर थियो। सोही कारण विगतको एकलकाँटे विकासको विनिर्माण जरुरी रहेको उत्तरआधुनिकतावादको जोड थियो।
यसले सबै सामाजिक, आर्थिक र सांस्कृतिक पक्षमा बहुलता आवश्यक छ भन्ने मान्यता लियो। जेक डेरिडाले 'अफ ग्रामाटोलोजी' भन्ने निबन्धमा शब्द, वाक्य र लेखनमा धेरै चीज हुन्छ भनी समाजमा लेखकीय प्रभावको दार्शनिकीकरण गरे भने यसै उत्तरआधुनिकवादका मुख्य प्रणेता फ्रेरडिक नित्सेले भने 'डेथ अफ गड'मा पुरानो संसार, पुराना विचार, पुरानो 'मेटाफिजिक्स' तथा अन्य धेरै पुराना मान्यता अब नरहने, मानिसलाई बहुध्रुवीय संस्कृति र नयाँ विज्ञान आधारित 'मेटाफिजिक्स' आवश्यक रहने भनेका छन्।
यी दुवैले सांस्कृतिक रूपले समाजमा नयाँ सामग्री (नयाँ व्याकरण र उन्नत तथा सिर्जनशील वाक्य), पप कल्चर, बहुभाष्य तथा अति वास्तविकताको वकालत गरी परम्परावादी संरचना भत्काउनु पर्छ भने। बहुलताको मान्यताले गर्दा सामाजिक मनोविज्ञानमा अहिले अति स्वच्छन्दताको प्रवृत्ति उत्पन्न भएको देखिन्छ। जसका कारण पुरानो तथा ऐतिहासिक संस्कार, स्थापित विधि, लेखन तथा स्वीकृत मान्यताका साथै परम्परागत सामाजिक विचार, ज्ञान, राजनीतिक दल र सामाजिक संरचना पनि भत्कँदै गएको देखिन्छ। नेपाली समाजमा भित्रिँदै गइरहेको यो 'डिकन्ट्रक्सन' र 'पोस्ट मोर्डनिज्म' विचारले राजनीतिमा लोकरिझ्याइँवाद र ग्रेटर फूल थ्योरीलाई नै मलजल पुर्याएको देखिन्छ।
'भ्रष्टाचारविरुद्धको भजन'
राजनीतिक बजारको 'शेयर हाइपोथेसिस'का अनुसार नेपालमा यतिखेर पुराना दलमध्ये कम लगानी र उच्च प्रतिफल दिन सफल भएका मुख्य तीन कम्पनी (दल) अगाडि देखिन्छन्। यी दलमा करिब सय वर्षको ऐतिहासिक पुँजीको लगानी रहेको देखिन्छ। विशेषतः नेपाली कांग्रेसले प्रजातन्त्र (सबैभन्दा ठूलो सामाजिक पुँजी)को शेयर बाँडेको छ, यो शेयरबाट वित्तीय एकाधिकार कायम नै रहेको दलाल वर्ग र सम्भ्रान्त समूहले उच्चतम नाफा पाउन सफल रहे तापनि आम जनसमूह र बहुसंख्यक सर्वसाधारणले लिएको शेयरको मूल्य बढेन र यो कमजोर वर्ग आर्थिक प्रतिफल लिन असफल भएको छ।
यसरी नै वामपन्थी, मधेशी वा जनजातीय धुरीका कम्पनीमध्ये एमाले, माओवादी र तराई-मधेशकेन्द्रित केही दलले वर्ग संघर्ष र समावेशी समाजवादी (सर्वोत्तम प्रतिफल दिने सामाजिक–सांस्कृतिक पुँजी) सत्ताको शेयर बाँडे। यो समूह पनि झनै सामुदायिकता, नातावाद, धनीमानीतन्त्र र कुलिनतन्त्री समूहका महादलालको चक्रव्यूहभित्र फसेर उनैलाई नै उक्त शेयरमा वित्तीय लाभग्राही बनाए। जसका कारण सर्वसाधारण, जनजाति, मधेशी, महिला, सर्वहारा, किसान र परिश्रमी वर्गलाई निराश तथा चौपट पारेको देखिन्छ।
यसैले गर्दा यी दुवै धुरीका सर्वसाधारण अहिले नयाँ दलमा शेयर लगानी गर्न आकर्षित देखिन्छन्। लोकरिझ्याइँवादको यो धारले खासगरी विनिर्माण र पोस्ट उत्तरआधुनिकताकै वैचारिकी सहयोगमा विद्यमान शासकीय प्रणाली, ब्युरोक्रेसी एवं सम्भ्रान्त वर्गलाई विद्रुपीकरण गर्छ, अनि पुराना जति सबै खराब भन्ने भाष्य समाजमा स्थापित गर्न सफल हुन्छ।
यस समूहमा नयाँ लोकतन्त्रवादी, वामपन्थी, जनजाति, लैगिंक अधिकारको वकालत गर्ने, रङभेदको विरोध गर्नेदेखि वातावरण र सामाजिक न्यायका अभियन्तासमेत मिसिन्छन्। अनि यो 'हाइब्रिड' स्वरूपमा संगठित हुन्छ। यिनीहरू पुरानो दल र बूढा नेता विस्थापन गर्नुपर्छ भन्छन्। यस्तै माहौलबाट डोनाल्ड ट्रम, नरेन्द्र मोदी, बोल्सेनारोजस्ता अति दक्षिणपन्थीहरू उदाउन पनि पुग्छन्, किनकि यिनीहरू वर्तमानका शासकको विगत अति नै खराब भएको र आफू या नयाँ आउने नेतृत्वचाहिँ सुन्दर भएको भन्दै रेन्बो नेरेटिभ (रंगीचंगी संकथन) बाँड्छन्। नेपालका पुराना नेता सबै भ्रष्टाचारी र गलत भन्ने संकथन अहिलेको नेपाली समाजले पत्याएको छ र सोही विषय मिडिया र सामाजिक सञ्जालमा भाइरल छन्।
तर नयाँ नेता र दलसँग पनि संस्थागत लोकतन्त्र अपनाउँदै समाजलाई दिगो भविष्य कसरी प्रदान गर्ने वा समाजलाई कसरी उच्च आदर्श र नैतिकवान् बनाउने भन्नेबारे ठोस योजना र कार्यक्रम देखिएको छैन। 'भ्रष्टाचारको मूल कारक पुराना पार्टी हुन्' भन्ने एउटा नारा मात्रै छ। त्यो निरन्तर भजनका रूपमा वाचन गरिँदैछ। त्यही मात्रै एक सत्य होझैँ भन्ने आग्रहले त्यसको प्रचार गरिएको छ। जबकि, देश नबन्नुको मूल कारण आर्थिक भष्टाचार मात्रै होला त?
देशको विद्यमान शासकीय प्रणालीको भद्दा स्वरूप, उद्योग धन्दाको अविकास, बेरोजगारीको वृद्धि, कृषि उत्पादनमा ह्रास, कम पुँजी लगानी, देशमा पुँजी निर्माण र बचत नहुनु, अधिक उपभोग खर्च, विदेशी ऋण र मुद्रास्फीतिको वृद्धि, जलवायु परिवर्तन, वनजंगल, नदीनाला र जलस्रोतमाथि धनी वर्गको कब्जा तथा वातावरणीय स्रोतको नोक्सानी पनि हाम्रो बेथिति र भ्रष्टाचार हुन्। तर यी विषयमा तीखो आवाज उठेको पाइँदैन।
हुनत यतिखेर लोकप्रियतावाद युरोपमा पनि देखिएको छ। दक्षिणपन्थी ब्रेक्जिट दल बेलायतमा आएको छ भने इटलीकी प्रधानमन्त्री जिओर्जी मेलोनीले राष्ट्रवादी लोकप्रियतावादकै विचारका आधारमा चुनाव जितिन्। ब्राजिलमा बोल्सेनारोले कुलीन वर्गलाई च्याप्ने र अमेरिकामा ट्रम्पले पनि बिर्सिएको 'श्वेत देशभक्ति'लाई पुनर्स्थापित गर्ने भनेर राष्ट्रपतिमा लोकप्रिय मत पाएका हुन्। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीबालले आम मानिसलाई सुशासनको नारा दिएर लोकप्रिय भए भने नरेन्द्र मोदी 'धार्मिक राष्ट्रवाद'मार्फत उदाए।
नेपालमा पनि अहिले रविको सुशासन र बालेनको 'नेवाः सांस्कृतिक पुनर्स्थापना'को 'स्टन्ट' हुन् वा हर्क साम्पाङको 'भूईंमान्छे'को स्टन्टले प्रख्याति पाएको देखिन्छ। यसरी हेर्दा लोकरिझ्याइँवाद सर्वसाधारणका लागि 'म सबै गर्छु र जे पनि गर्न सक्छु' भनेर नै आएको देखिन्छ। तर यसले सर्वसाधारण, सर्वहारा गरिब को हुन् भन्ने जान्दैन। मानिस गरिब कसरी हुन्छ? यसको ऐतिहासिक र राजनीतिक कारणहरू के हुन्? अल्पसंख्यक र सदियौँदेखि विभेदको दलनमा परेको तल्लो वर्गले यसमा कसरी सहभागिता जनाउँछ र सामाजिक लाभ लिन पाउँछ भन्नेबारे यिनीहरूलाई बोध छैन।
उसो त बीपी र प्रचण्ड पनि लोकप्रियताबाटै उदाएका हुन्। दशवर्षे जनयुद्ध पनि एकखाले लोकरंजन र विर्निमाणवादकै वैचारिकी सहारामा फैलिएको थियो। यस अर्थमा समाजमा छिटो परिवर्तन ल्याउन सक्ने अति ऊर्जावान्, गतिशील, चलायमान र अति जोखिम मोल्ने ग्रेटर फूल थ्योरी पनि समाजको लाभ र रूपान्तरणका लागि केही हदसम्म उपयोगी नै देखिन्छ। तर यसले व्यक्तिवाद, स्वेच्छाचारिता, अराजकता, भीडतन्त्र, फासिवाद, निरंकुशता र शासन सत्तामा सानो स्वार्थ समूहको रजाइँ चल्छ। तर यसले नयाँ सम्भ्रान्त वर्ग नजन्माउने सुनिश्चित गर्न सक्यो भने परिणाम चमत्कारिक पनि हुन्छ। इतिहास बदल्ने सामर्थ्य पनि राख्छ। यसो गर्दै गर्दा सामाजिक लोकतन्त्र (आधुनिक जनवाद वा समाजवाद) का आधारभूत संस्थागत प्रबन्धनहरूलाई मासिन दिन हुँदैन।
शासनको नेतृत्वमा जुन दल र व्यक्ति आए पनि आवधिक निर्वाचन प्रणाली र राजनीतिक छनोटको पद्धति (जनता, संविधान र लोकतन्त्रको सर्वोपरिता) अक्षुण्ण राख्दै शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम न्यायालय, संसद् र कार्यपालिकाको अन्तर मिलानसहित नयाँ उचाइमा आर्थिक, सामाजिक र सांस्कृतिक प्रवर्द्धन गर्न सक्नुपर्छ।
लोकरिझ्याइँबाद आलोचनाबाट भाग्नु पनि हुँदैन। सञ्चारमाध्यममा धारणाभन्दा वास्तविकता बाँड्ने हिम्मत गर्नुपर्छ। समाजको ऐतिहासिक विकास क्रममा हामी तलबाट उचाइतिर त जानै पर्छ, आइरहने सामाजिक अन्तरविरोधलाई हल गर्ने सामर्थ्य पनि राख्नुपर्छ। तत्कालका लागि लोकरिझ्याँइले नेपाली राजनीतिक बजारलाई संस्थागत उन्नत गर्दै थप आर्थिक–सामाजिक–सांस्कृतिक पुँजीको लगानीसहित पुरानो, दुःखी र गरिब बजारको विनिर्माण गर्दै नयाँ, सुखी र उत्तर आधुनिक र धनी बजारमा चमत्कारिक रूपान्तरण गर्न सफल हुनेछ भन्ने आशा गरौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
