यू–२० एशिया रग्बी सेभेन्समा नेपालको कमजोर प्रदर्शन

नेपालको युवा टोली घरेलु मैदानमा जारी एशिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ।

काठमाडौँ– नेपालको युवा टोली घरेलु मैदानमा जारी एशिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ।

दशरथ रंगशालामा शनिबारदेखि शुरू भएको एशिया रग्बी सेभेन्समा नेपालको यू–२० पुरुष टोलीले समूहको तीन खेलमा हार बेहोरेपछि सेमिफाइनलमा पुग्न असफल भएको हो।  

नेपालको पुरुष टोली समूह ‘बी’मा परेको थियो। शनिबार समूहका तीनै खेलमा नेपाल पराजित हुन पुग्यो। पहिलो खेलमा भारतसँग २८–० ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि मलेसियासँग ४४–० ले स्तब्ध भयो। फाइनलमा पुग्ने लक्ष्य राखेको नेपालको लगातार दोस्रो हारसँगै सेमिफाइनलमा नै पुग्ने आशा सकिएको थियो।

समूहको अन्तिम खेलमा पनि नेपाल हङकङसँग ३६–० ले हार बेहोर्‍यो। अब नेपालले पाँचौँ स्थानका लागि आइतबार उज्वेकिस्तासँग खेल्नेछ। आइतबार हुने सेमिफाइनलमा चाइनिज ताइपेईले मलेसिया र थाइल्यान्डले हङकङसँग प्रतिस्पर्धा गर्ने भएका छन्। 

यता, महिलातर्फ पनि डबल राउन्ड रोविनका आधारमा भएको प्रतियोगितामा नेपालको यू–२० महिला टोलीले तीन खेलमा नै हार बेहोरेको छ। नेपाली युवा टोलीले तीन खेलमा नै हार सामना गरेपछि उपाधि जित्ने सम्भावना भने समाप्त भएको छ।

महिलातर्फ लिगमा प्राप्त अंकको आधार शीर्ष तीन निर्धारण हुनेछ। पहिलो खेलमा हङकङसँग ३४–५ ले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियासँग २४–० ले हार बेहोर्‍यो। लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने अवसर गुमेको हो। तेस्रो खेलमा भने नेपाल थाइल्यान्डसँग ४५–० को फराकिलो हार सामना गर्न बाध्य भयो। यद्यपि, बाँकी आइतबार तीन खेलमा जित निकाल्दा भने नेपाल दोस्रो र तेस्रो हुने अवसर जीवन्त छ। दुई दिने प्रतियोगितामा आइतबार नै सेमिफाइनल र फाइनलका खेल हुनेछन्।