कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

काठमाडौँ– हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमतर्फ सरदर स्थान आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ।

साथै, भारतको मध्य प्रदेश र आसपास रहेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। 

जसको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनीसहित देशका पहाडी भूभागको केही स्थान र बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

राति देशभर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षासमेत हुने महाशाखाले जनाएको छ।