न्युजिल्यान्डमाथि यूएईको ऐतिहासिक जित, सिरिज बराबरी

आयन खान र कप्तान मोहम्मद वासिमको सानदार प्रदर्शनमा यूएईले टेस्ट टोली न्युजिल्यान्डमाथि ऐतिहासिक जित दर्ता गरेको छ। यूएईले कुनै पनि खेलमा पहिलो पटक न्युजिल्यान्डलाई हराएको हो।

काठमाडौँ– दोस्रो टी–२० आई खेलमा युएईले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको छ। 

आयन खान र कप्तान मोहम्मद वासिमको सानदार प्रदर्शनमा यूएईले टेस्ट टोली न्युजिल्यान्डमाथि ऐतिहासिक जित दर्ता गरेको हो। यूएईले कुनै पनि खेलमा न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो। 

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जितका लागि पाएको १४३ रनको लक्ष्य यूएईले १५.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। युएईको जितमा कप्तान मोहम्मद वासिमले ५५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले २९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। 

आसिफ खान २९ बलमा ५ चौका र १ छक्कासहित ४८ रनमा नटआउट रहे। वृत्य अरविन्द २१ बलमा ३ चौका र २ छक्कासहित २५ रनमा आउट भए। 

न्युजिल्यान्डका टिम साउथी, मिचेल सान्टनार र काइल जेमिसनले एक एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाउदै १४२ रन बनाएको थियो।

न्युजिल्यान्डका मार्क च्यापम्यानले सर्वाधिक ६३ रन बनाए जितको लागि पर्याप्त हुन सकेन। अन्य कुनै पनि ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

यूएईका आयन खानले २० रन खर्चेर ३ विकेट लिए। मोहम्मद जवादुल्लाहले २ तथा अली नासिर, जहुर खान र मोहम्मद फराजुदीनले समान १–१ विकेट लिए। 

यससँगै तीन खेलको सिरिज १–१ को बराबरी भएको छ। पहिलो खेलमा न्युजिल्यान्ड १९ रनले विजयी भएको थियो।