जलविरे झरनामा आन्तरिक पर्यटकको घुइँचो, २८ लाख राजस्व संकलन

झरना हेर्न मात्र होइन, क्यानोनिङ, क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र विदेशी पर्यटकसमेत यहाँ आउने गरेका छन्। झरना क्षेत्रमा कोसेली घरसमेत निर्माण गर्ने तयारी छ।

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरे झरना पुग्ने जो–कोहीको मन लोभिने गरेको छ।

पर्यटकहरू यहाँ शीतलताको छुट्टै आनन्द महसुस गर्छन्। पूर्वाधार निर्माणपछि पर्यटकको चहलपहल बढेको झरना पछिल्लो समय गाउँपालिकाको चिनारीसमेत बन्दै गएको छ।

झरना गाउँपालिकाका लागि आम्दानीको स्रोतसमेत बनेको छ। झरना देखाएर गाउँपालिकाले २०७९/८० मा २८ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यहाँ प्रवेश गर्ने पर्यटकबाट ५० रुपैयाँ शुल्क लिने गरिएको छ। स्थानीय र विद्यार्थीलाई २० रुपैयाँ तोकिएको छ।  

यहाँ झरनासँगै अन्य पर्यटकीय गतिविधि पनि हुने गरेका छन्। क्यानोनिङ, क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र बाहिरी देशका पर्यटकसमेत यहाँ आउने गरेका छन्। विदेशीका लागि क्यानोनिङ प्रतिव्यक्ति ५०० रुपैयाँ, वनभोजको एक हजारदेखि तीन हजारसम्म र फिल्म सुटिङको तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म लिने गरिएको छ।

जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले प्राकृतिक सुन्दरता र चिसो एवं शान्त वातावरणका कारण यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको बताए। दैनिक १०० देखि १५० जनासम्म पर्यटक यहाँ घुम्न आउने गरेको उनको भनाइ छ। “नयाँ वर्षका दिन एक हजार ५०० जना आएको तथ्यांक छ,” उनले भने, “जाडोको समयमा पनि विभिन्न जिल्लाबाट भ्रमण टोली आउने गरेका छन्।” विकास समितिले झरना र यहाँ भइरहेका विकास निर्माणको रेखदेख, पर्यटकका समस्या समाधान र गुनासो सुन्ने काम गरिरहेको छ। 

पर्यटक यहाँ स्वतःस्फूर्त रूपमा आउँछन्। भारतबाट समेत आनन्द लिन यहाँ पर्यटक आउने गरेका छन्। झरनामाथि रहेको गाउँ याकराङमा होमस्टेको समेत व्यवस्था रहेको समितिका अध्यक्ष गुरुङले बताए।  

नारायणगढ–मुग्लिन सडकअन्तर्गत सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ। गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ। झरना अवलोकनका लागि चितवन, धादिङ, गोरखा, तनहुँ, काठमाडौँ, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्की, मकवानपुर, पर्सालगायत जिल्लाबाट पर्यटक आउँछन्।

नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गर्ने लामो दूरीका सवारीसाधन पनि यहाँ रोकिएर झरना अवलोकन गर्न पुग्ने गर्छन्। २०६९ देखि पर्यटन विकास शुरू भएको यहाँ पछिल्लो समय पूर्वाधार निर्माणले पनि फड्को मारेको छ।

झरना पुग्ने सडक निर्माणसँगै शौचालय, गोलघर, 'चेन्जिङ' रुम र तलाउ निर्माण गरिएको छ । अन्य भौतिक संरचना र झरनाको सौन्दर्यीकरणका काम भइरहेका छन् । यस्तै प्रदेश सरकारको सहयोगमा सिँढी, रेलिङ र पौडीपोखरी निर्माण गरिएको छ। यस वर्ष झरनाको विकासका लागि ३५ लाख बजेट विनियोजन भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। “झरनाको प्राकृतिकस्वरूप नबिग्रने गरी जिपलाइन अथवा साइक्लिङ निर्माणको तयारी गरेका छौँ,” गुरुङले भने, “पर्यटकीय गतिविधि बढाउने अन्य संरचना पनि निर्माण गर्ने योजनामा छौँ।” 

गाउँपालिकाले झरनाको सरसफाइमा विशेष ध्यान दिने अध्यक्ष गुरुङले बताए। झरना नजिकै तीनवटा सटर निर्माण गरिएको छ। त्यहाँ जाने पर्यटकले खाजा खानका लागि सहज हुनेछ। गाउँपालिकाले आम्दानीभन्दा पनि प्राकृतिक स्रोतको संरक्षण र त्यसको व्यवस्थापनमा जोड दिने उनको भनाइ छ। 

झरना क्षेत्रमा कोसेली घरसमेत निर्माण गर्ने तयारी छ। “इच्छाकामनामा उत्पादन भएका वस्तु कोसेली घरमा राखिने छ। यहाँ आउने पर्यटकले स्थानीय उत्पादन घर लैजान पाउनुहुनेछ,” उनले भने, “झरनाकै कारण होटेल बढेका छन् भने व्यवसाय पनि बढेको छ।”