बाढीले क्षति पुर्‍याएको कागबेनीको पुनः निर्माण शुरू

बाढीले कागबेनीका २९  घर पूर्ण क्षति भएका छन् भने १३ घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ। 

गलेश्वर– कागखोलामा आइतबार साँझ आएको बाढीले क्षति पुर्‍याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनः निर्माण थालिएको छ।

समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि स्थानीयलाई गाँस र बासको समस्या भएको छ। घरसहित बन्दोबस्तका सामान खोलाले बगाएपछि समस्यामा परेका कागबेनीवासीको सहयोगका लागि गण्डकी प्रदेश सरकार, विभिन्न दातृ निकाय र मनकारी व्यक्ति जुटिरहेका छन्। मुस्ताङवासीले विपद्‌मा परेका कागबेनीवासीको व्यवस्थापन र पुनः निर्माणमा श्रमदान गरिरहेका छन्।

गण्डकी प्रदेश सरकारले बाढीपीडितलाई राहत सामग्रीसहित उद्धार, उपचार र पुनः स्थापनामा सहयोग गरिरहेको छ। घरबारविहीन भएका कागबेनीवासीको दैनिकी असहज बनेपछि भत्किएको संरचना व्यवस्थित गर्न मेसिन, उपकरण तथा सवारीसाधनका लागि प्रदेश सरकारले इन्धनलगायतका सामग्री पठाएर काम गरिरहेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिङ्जीन नामगेल गुरुङले जानकारी दिए। 

त्यसैगरी प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्यांकेट पठाउने, बाढीपहिरो क्षेत्रमा हुनसक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भू–संरक्षणलगायत काम गरिरहेको उनले बताए। पुनः निर्माणका लागि मुस्ताङका विभिन्न गाउँ, बस्ती, क्लब, स्थानीय समूह, जिल्ला समन्वय समितिलगायतले काम गरिरहेका छन्।

स्थानीय नागरिकसँगै सुरक्षाकर्मी पनि कागबेनीवासीको पुनः स्थापनाका लागि दैनिक खटिरहेका छन्। स्थानीय जनप्रतिनिधिसहित सांसद बसेर बाढीपीडितका लागि गर्न सकिने विकल्पको बारेमा योजना बनाउने र सोहीअनुरूप अघि बढ्ने काम भइरहेको उनले बताए। 

राहत तथा उद्धारमा आ–आफ्नो तह र तप्काबाट सक्दो आर्थिक तथा भौतिक सहयोगका लागि संघ, प्रदेश र स्थानीय सरकार, गैरसरकारी संघसंस्था र देश–विदेशमा रहेका नेपालीमा अनुरोध गरिएको छ।

बाढीले कागबेनीका २९  घर पूर्ण क्षति भएका छन् भने १३ घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ। १८ सवारीसाधन, एउटा एक्स्काभेटर, एउटा मोटरेबल पक्की पुल, झोलुंगे पुल, काठेपुल, एउटा सानो पक्की पुल, नौवटा गोठसहित करिब ३२ वटा चौपाया बाढीले बगाएको थियो। 

यसैगरी, गाउँपालिका–४ को वडा कार्यालय, इलाका प्रहरी चौकी, कागबेनी श्राद्धस्थलको मन्दिर तथा आवास क्षेत्रसमेत बगाएको छ।