काठमाडौँको ढुंगेधारामा बसले ठक्कर दिँदा २ जनाको मृत्यु, १ घाइते

दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिकाका ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारतीको उपचारको मृत्यु भएको छ।

काठमाडौँ– काठमाडौँको वनस्थली ढुंगेधारामा बसको ठक्करबाट आइतबार बिहान दुई जनाको मृत्यु भएको छ। 

बालाजुबाट कलंकीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२–०३७प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिकाका ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारती रहेका छन्। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको जानकारी दिए। 

दुर्घटनामा नौ वर्षीय अनिशा थापा घाइते भएकी छन्। टाउकोमा चोट लागेर घाइते भएकी अनिशाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता ढुंगेलले बताए।