प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सोमबार

संसदीय सुनुवाइका क्रममा श्रेष्ठले आफ्नो योग्यता, अनुभव, कार्ययोजना र अवधारणा प्रस्तुत गर्नेछन्। 

काठमाडौँ– प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबार हुने भएको छ।

संसदीय सुनुवाइ समितिले सोमबार शुरूमा उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने छ।

समितिको आइतबार बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरूसँग सोमबार बिहान साढे १० छलफल गर्ने र साढे ११ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल गर्ने निर्णय गरेको हो।

समितिले साउन २४ गते श्रेष्ठविरुद्ध १० दिने उजुरी आह्वान गरेको थियो। श्रेष्ठविरुद्ध तीन वटा मात्र उजुरी परेका छन्। 

संसदीय सुनुवाइका क्रममा श्रेष्ठले आफ्नो योग्यता, अनुभव, कार्ययोजना र अवधारणा प्रस्तुत गर्नेछन्। सुनुवाइपछि समितिले नाम अनुमोदन गर्ने वा नगर्ने भनी निर्णय गर्ने छ।