संसद् अवरोध हटाउन दलहरूबीच सहमतिको विकल्प छैनः सभामुख

सभामुख देवराज घिमिरे संसद्को अवरोध हट्ने विषय सुन तस्करी प्रकरण अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अड्किने गरेको बताउँछन्।

काठमाडौँ– संसद्को अवरोध हटाउने विषय सत्तापक्ष र प्रतिपक्षबीच सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने अडानमा अड्किएको छ। आइतबार सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउन पार्टीका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका थिए।

छलफलपछि सञ्चारकर्मीहरूसँग उनले संसद्को अवरोध हट्ने विषय उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अड्किएको बताए। “संसद् खुलाउने प्रयास छ र खुल्नुपर्छ भन्ने मान्यता सबैको छ। खुल्ने कि नखुल्ने भन्ने कुरा समिति बनाउने की नबनाउने भन्नेमा नै गएर अड्किने गरेको छ,” उनले भने।

सभामुख  घिमिरेले संसद्को अवरोध खुलाउन राजनीतिक दलहरूबीच सहमति गर्नुबाहेकको विकल्प नरहेको बताएका छन्। उनले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताए।

“प्रतिपक्षले सत्तालाई तुरुन्त आदेश निर्देश गरेर समिति बनाउन भन्ने निर्देशन दिन सभामुखले आफ्नो कर्तव्य निभाउनु पर्छ, सभामुख सरकारको पछिपछि हिँडेर हुन्छ, प्रतिपक्षले माग गर्ने कुरा नाजायज छ? सरकारलाई सघाउन सरकारका अंगले ठिक गर्छन् भनेर बसेर मात्रै हुन्छ भन्ने आरोप छ।”

दलहरूको बीचमा समझदारीको वातावरण बन्न सके संसद् अवरोध हट्ने उनको भनाइ छ। “समस्याको समाधान गर्न दलहरूले वातावरण बनाउनु पर्छ, निकास दिनुपर्छ, मैले सक्दो सहयोग गरिरहेको छु। कोशिश पुगेन भन्ने छ, के हुँदा हुन्छ म त्यो गर्न तयार छु,” उनले भने, “उहाँहरूले त्यसमा सहमति गर्नुबाहेक अर्को बाटो छैन। दलहरूकै बीचमा समझदारीको वातावरण हुनुपर्छ।”

सभामुख घिमिरेले संसद्को अवरोध हटाउनका लागि आफूले दलका नेताहरूसँग बसेर छलफल गरिरहेको बताए।

सांसद शर्माले असंसदीय शब्द प्रयोग नगरेकाले रेकर्डबाट हटाउनु पर्दैन: कांग्रेस
सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी सांसद डा. सुनील शर्माले साउन २९ गतेको प्रतिनिधिसभाको बैठकमा प्रयोग गरेको शब्द असंसदीय नभएको भन्दै संसद् रेकर्डबाट हटाउनु नपर्ने बताएको छ। बैठकपछि कांग्रेस सचेतक सुशीला थिङले डा. शर्माले असंसदीय शब्द प्रयोग नगरेकाले संसद्को रेकर्डबाट हटाउनु नपर्ने पक्षमा कांग्रेस रहेको बताइन्।

उनले नेकपा एमालेले पनि सांसद शर्माले राखेको अभिव्यक्ति असंसदीय नभएकाले हटाउनु नपर्ने बताए जानकारी दिइन्। उनले सांसद शर्माले सरकारले आतंककारीहरूको नेतृत्व गर्दै हुनुहुन्छ की, डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ, भन्ने प्रश्न गरेको र यो शब्द संसदीय रहेको बताइन्।

“शर्माले यो सरकारले आतंककारीहरूको नेतृत्व गर्दै हुनुहुन्छ की, डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ, भन्ने प्रश्न रहेछ। त्यसैले त्यो कुरा संसदीय मर्यादाभित्र रहेर बोल्नुभएको जस्तो लाग्यो, नेपाली कांग्रेसको सचेतक भएकाले हटाउनुपर्छ भन्ने पक्षमा छैन। माओवादीले आज कुनै कुरा राखेन,” उनले भनिन्।

सचेतक थिङले बैठकमा उच्चस्तरीय संयन्त्र गठन नगरेसम्म संसद् अघि बढ्न नसक्ने कुरा प्रमुख प्रतिपक्षले राखेको बताइन्। बैठकमा सभामुख घिमिरेले संसद्को गतिरोध अन्त्य गर्न दलहरू मिल्नुपर्ने र समिति सभापति चाँडो चयन गर्नुपर्ने धारणा राखेको बताइन्।