काठमाडौँ महानगरविरुद्ध फुटपाथ व्यवसायीको प्रदर्शन

काठमाडौँ महानगरले गैरकानूनी रूपमा व्यवसायीहरूको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको प्रदर्शनकारीको आरोप छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सडक व्यापारीहरूलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। सडक व्यापार गर्ने साना व्यवसायीहरूले महानगरपालिकाको कदमविरुद्ध आइतबार काठमाडौँमा भेला भई प्रदर्शन गरेका हुन्। 

काठमाडौँ महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साइकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरू र केही सर्वसाधारण आन्दोलनमा उत्रिका छन्।

व्यवसायीको आन्दोलनमा सहभागी कानून व्यवसायी सुबिन मुल्मीले काठमाडौँ महानगरले सडक व्यापारीहरूलाई गरिखान नदिएको आरोप लगाए। गैरकानूनी रूपमा व्यवसायीहरूले सामान महानगरले खोसेको भन्दै कानूनी रूपमा नै उनीहरूको समुचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो। 

उनले सडक व्यापारलाई कानूनले रोकेको अवस्था नरहेको बताए। उनले महानगरले गैरकानूनी रूपमा व्यवसायीहरूको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको आरोप लगाए। “गरिबको पेटमा लात हान्न मिल्दैन। उनीहरूलाई गरिखाने व्यवस्था गरिनुपर्छ। सडक व्यापारलाई व्यवस्थापन गर्न मेयर बालेन्द्र शाह गम्भीर हुनुपर्छ,” उनले भने।

व्यवसायीहरूले शहर सबैका लागि की धनीका लागि मात्रै? गरी खान देऊ लगायतका नारा लगाएर आन्दोलन गरेका छन्।