सदनको गतिरोध खुलाउन प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआईबीको अनुसन्धान प्रभावित हुने भएकाले अन्य छानबिन समिति तत्कालका लागि बन्न नहुनेमा जोड दिएका थिए।

काठमाडौँ– संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक पनि बिनानिष्कर्ष सकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार दिउँसो सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गराउने विषयमा सहमति बन्न नसकेको हो। 

जसरी पनि संसद् बैठक सुचारु गराउनुपर्छ भन्ने विषयमा कुराकानी भएको र भोलि बस्ने बैठकबाट त्यसमा सहमति हुने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जानकारी दिए। 

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रभावित हुने भएकाले अन्य छानबिन समिति तत्कालका लागि बन्न नहुनेमा जोड दिएका थिए। अनुसन्धानले गति लिएकाले त्यसको प्रतिवेदन नआउँदासम्म पर्खन उपयुक्त हुने कुरा बैठकमा गृहमन्त्रीले राखेको पनि लामिछानेले बताए। 

“गृहमन्त्रीले माग्नुभएको समय कम छ। त्यसले गर्दाखेरी त्यो समयसम्म हेर्ने कि भन्ने विषयसम्म हामी आइपुगेका छौँ। हामी अहिले त्यसलाई प्रभावित नहुने ढंगले अर्को समिति बनाउने हो कि अथवा होइन यो १५ दिन हेरौँ,” उनले भने। उनले आफ्नो पार्टीले भने संसद् सञ्चालन गरेर जानुपर्ने कुरामा जोड दिएको उल्लेख गरे।

रास्वपा सभापति लामिछानेका अनुसार सोमबार फेरि बैठक बस्ने र दलहरूबीच संसद् खुलाउने विषयमा सहमति जुट्नेछ। प्रमुख प्रतिपक्ष एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै आएकाले गत साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध हुँदै आएको छ।