‘सुन प्रकरणमा सीआईबीको अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सरकार सकारात्मक’

सर्वदलीय बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले सीआईबीको अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताए।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोलाएको बैठकमा सहभागी भएका नेताहरूले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सरकार सकारात्मक रहेको बताएका छन्।

प्रमुख प्रतिपक्ष एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै आएकाले गत साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध हुँदै आएको छ। सदनको अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार दिउँसो सिंहदरबारमा सर्वदलीय बैठकमा बोलाएका थिए। सोमबार पुनः बस्ने गरी बैठक निष्कर्षविहीन टुंगिएको छ। 

बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले सीआईबीको अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताए। सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको छ। अहिले भइरहेको अनुसन्धान पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गरेर जाने बाटो हुनसक्छ।” उनले सोमबार पुनः सर्वदलीय बैठक बस्ने र संसद् अवरोध अन्त्य गर्ने निष्कर्ष निस्किने बताए। 

सरकार पक्ष पनि लचिलो हुने र प्रमुख प्रतिपक्ष पनि लचिलो भएर जाने कुरा सहमतिनजिक पुगेको भन्दै अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय संयन्त्र बन्न सक्ने उनको भनाइ छ। “छलफल सहमतिको नजिक पुगेको छ। भोलि फेरि बैठक बस्छ र संसद्को अवरोधको अन्त्य गर्ने निष्कर्ष निस्किन्छ। बीचको बाटो निकाल्ने भन्ने छ,” उनले भने।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि सदन सुचारु गर्नेबारेमा सकारात्मक छलफल भएको बताए। उनले सोमबार एकपटक बैठक बसेर संसद् सुचारु गर्ने सहमति भएको बताए। “सदन सुचारु गर्नेबारे सकारात्मक छलफल भएको छ। भोलि एकपटक पुनः बैठक बसेर पर्सि तीन बजेसम्म रोक्ने र त्यसपछि संसद् अघि बढाउने सहमति छ,” उनले भने।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जसरी पनि संसद् बैठक सुचारु गराउनुपर्छ भन्ने विषयमा कुराकानी भएको र सोमबार बस्ने बैठकबाट त्यसमा सहमति हुने उल्लेख गरे। बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीको अनुसन्धान सीआईबीले नै टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा सुन प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको र सीआईबीले नै यसलाई टुंगोमा पुर्‍याउने दाबी गरे। उनले संसद् गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको पनि बताए।

“हामीलाई विश्वास छ, भोलिसम्ममा निष्कर्ष सकारात्मक निस्केला र पर्सिसम्ममा सदन खुल्ला की भन्ने आशावादी छौँ। सुन प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको छ। सीआईबीले नै यसलाई टुंगोमा पुर्‍याउने छ,” उनले भने।

यसअघि सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउने विषयमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पार्टीका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए। छलफलबाट निष्कर्ष निस्किन नसकेपछि प्रतिनिधिसभाको आइतबारका लागि डाकिएको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना टाँसेर मंगलबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ।