कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँ फेला

बाढीले पुरिएको बैंककाे भवन खोतल्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंकको डेढ कराेडभन्दा बढी रुपैयाँ फेला परेकाे छ।

फाइल तस्वीर

बागलुङ– मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ। आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो।

बाढीले पुरिएको बैंकको भवन खोतल्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एक करोड पाँच लाख ३२ हजार ९६४ र प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडलले जानकारी दिए।

बाढीले प्रभु बैंकको भवन नै बगाएको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ। एक सातापछि आज फेला परेको रकम सुरक्षित नै रहेको उनले बताए।

प्रहरी नायब उपरीक्षक पौडेलले भने, “आज गाउँले, सुरक्षाकर्मी र बैंकका कर्मचारीहरूले उत्खनन् गर्ने क्रममा पैसा फेला परेको छ, भल्टसँगै पैसा फेला परेको हुँदा पैसा सुरक्षित नै देखियो, बैंकको भवन छुट्टा–छुट्टै थिए, त्यसले गर्दा कुन बैंकको पैसा हो भन्ने पत्ता लगाउन सहज भयो।”