भक्तपुरको सुधारगृहबाट भागे बालबालिका, नियन्त्रणमा लिने प्रयास जारी

बाहिरबाट आएका केही व्यक्तिले सुधारगृहको पछाडिको ढोका फोडेर डेढ सय जनाभन्दा बढी बालबालिकालाई भगाएको प्रहरीले जनाएको छ।

तस्वीर : कमल प्रसाईंको फेसबुक

काठमाडौँ– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधारगृहबाट बालबालिका फरार भएका छन्। १६० जनाभन्दा बढी बालबालिका फरार भएकामा अधिकांशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बाँकीलाई पनि नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, एसएसपी दिनेश मैनालीले कति भागेका थिए र कति पक्राउ गर्न बाँकी छन् यकिन भई नसकेको बताए। 

“यकिन भएको छैन, अधिकांश नियन्त्रणमा लिइसकेका छौँ। अरू पक्राउ गर्न टोली परिचालन गरेका छौँ,” उनले भने, “घटनाबारे अनुसन्धान भइरहेको छ।” उनका अनुसार काठमाडौँबाट मात्रै ८४ जना पक्राउ गरिएको छ। सुधारगृहमा २५६ जना बालबालिका थिए।

बाहिरबाट आएका केही व्यक्तिले सुधारगृहको पछाडिको ढोका फोडेर डेढ सय जनाभन्दा बढी बालबालिकालाई भगाएको प्रहरीले जनाएको छ। उक्त घटनामा केही प्रहरी घाइते भएका छन्।

सुधारगृहमा रहेका १८ वर्षका एक जनाको नागरिक अस्पतालमा मृत्यु भएपछि आफन्तले आइतबार बिहान सुधारगृहअगाडि विरोध प्रदर्शन गरेका थिए। त्यसपछि पछाडिको ढोका फोडेर उनीहरू भागेको प्रहरीले जनाएको छ। घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो। जबरजस्ती करणी मुद्दाका कारण सुधार गृहमा राखिएका बस्नेत आइतबार बिहान अचानक बेहोस भएका थिए।

उपचारका लागि गठ्ठाघरस्थित नागरिक अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसपछि उनका आफन्तले सुधारगृहबाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।