सभाध्यक्षलाई पनि मत हाल्न लगाएर कोशीका मुख्यमन्त्रीले लिए विश्वासको मत

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। मुख्यमन्त्री थापालाई प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएका थिए।

काठमाडौँ– कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मत विभाजनपछि उनले बहुमतका लागि आवश्यक पर्ने ४७ मत प्राप्त गरेका हुन्।

मत विभाजनका क्रममा ७७ सांसद उपस्थित रहेको प्रदेशसभाको अध्यक्षता गरेका इसराइल मन्सुरीले जानकारी दिए। उनले मुख्यमन्त्री उद्धव थापाले राखेको विश्वासको मतको प्रस्तावमा ४७ मत प्राप्त गरेको र विपक्षमा ३० मत खसेको बताए। प्रदेशसभाको अध्यक्षता गरेका कांग्रेस सांसद मन्सुरीले पनि मुख्यमन्त्री थापालाई विश्वासको मत दिएका थिए। सो क्रममा विपक्षी सांसदहरूले नाराबाजी गरेको थिए।

“कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले नेपालीको संविधान १६८को उपधारा ४ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनी प्रदेशसभामा पेश गर्नु भएको प्रस्तावको पक्षमा जम्मा ४७ मत परेकोले उक्त मत कोशी प्रदेशसभाका तत्काल कायम रहेका ९३ जना प्रदेशसभा सदस्य संख्याको बहुमत भएकाले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु,” उनले भने।

उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा अचानक समस्या आइ प्रदेशबाहिर जानु परेको भन्दै बैठक सञ्चालनको जिम्मेवारी मन्सुरीलाई दिएकी थिइन्।