काठमाडौँ प्रहरी प्रमुखमा भूपेन्द्र खत्री, उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्रसिंह राठौर

गृह मन्त्रालयले काठमाडौँ उपत्यकाका दुई प्रमुख इकाईमा नेतृत्व परिवर्तनसहित प्रहरी वरिष्ठ उपरीक्षकहरूको जिम्मेवारी हेरफेर गरेको छ।

काठमाडौँ– गृह मन्त्रालयले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ।

काठमाडौँ उपत्यकाका दुई प्रमुख इकाईमा नेतृत्व परिवर्तनसहित एसएसपीहरूको जिम्मेवारी हेरफेर भएको हो। जसअनुसार जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी एसएसपी भूपेन्द्र खत्रीले पाएका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार परिसरमा रहेका दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी सोमेन्द्रसिंह राठौरलाई दिइएको छ। त्यहाँ कार्यरत मनोज केसीलाई प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा सरुवा गरिएको छ।

निर्देशनालयका सानुराम भट्टराई भने राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा सरुवा भएका छन्।

त्यस्तै, ललितपुर जिल्ला प्रहरी परिसर प्रमुखको जिम्मेवारी एसएसपी दिनेश आचार्यले पाएका छन्। आचार्य केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए। ललितपुरमा कार्यरत सिद्धिविक्रम शाहलाई सीआईबीमा सरुवा गरिएको छ।