विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीश पदमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

काठमाडौँ– प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्। संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार कायममुकायम प्रधानन्यायाधीश रहेका श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन्। उनी नेपालको ३१औँ प्रधानन्यायाधीश हुन्।  

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका सम्माननीय कायममुकायम प्रधान न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

सोमबार नै बसेको संसदीय विशेष सुनुवाइ समितिले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको थियो। उनले संसदीय सुनुवाइका क्रममा आफ्नो १८ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गर्दै पारिवारिक अदालत वा इजलासको स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।