भक्तपुरको बाल सुधारगृहमा भएको झडपमा प्रहरीसहित २२ जना घाइते, फरार २२१ मध्ये १९४ नियन्त्रणमा

सानोठिमीस्थित बाल सुधारगृहमा सोमबार भएको झडपमा चार बालबन्दी, प्रहरी निरीक्षकसहित १०, सशस्त्र प्रहरीको आठ जना घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।

तस्वीर : कमल प्रसाईंको फेसबुक

भक्तपुर– मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधारगृहको मुख्य गेट तोडफोड गरी फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ घाइते भएका छन्।

प्रहरीले तीन राउन्ड गोली चलाउँदा दुई बालबन्दीलाई गोली लागेर घाइते भएका छन्। सोमबार भएको उक्त घटनामा नेपाल प्रहरीका प्रहरी निरीक्षकसहित १०, सशस्त्र प्रहरीको आठ घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।

बन्दीको आक्रमणबाट घाइते प्रहरी निरीक्षक सञ्जीव ओलीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। उनको हात भाँचिनुका साथै शरीरका विभिन्न अंगमा चोट लागेको छ। बन्दीतर्फ चार जना घाइते भएका छन्। तीमध्ये दुई जनालाई गोली लागेको छ। गोली लागेकामध्ये गम्भीर घाइतेको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

घाइतेको भक्तपुरको नागरिक कम्युनिटी अस्पताल, मध्यपुर अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

बाल सुधारगृहमा रहेका ४३ जना केटी र २५६ जना केटा गरी २९९ बालबन्दी रहेको सुधारगृहको गेट तोडफोड गरेर २२१ जना फरार भएका थिए। भक्तपुर र काठमाडौँका विभिन्न ठाउँबाट गरी हाल १९४ जनालाई प्रहरी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। थप २७ जना टेलिफोन सम्पर्कमा आइसकेको उनले जानकारी दिए। सम्पर्कमा आएका पनि रातभरिसम्ममा नियन्त्रणमा आउने दाबी गरे।

बाल सुधारगृहभित्र प्रशासनले विभेद गरेको भन्दै बन्दीले नाराबाजी गर्दै घरेलु हतियार लिएर बाहिर निस्के पनि सुधारगृहभित्र रहेका ४३ जना बालिका बन्दी र केही पुरुष बन्दी भने बाल सुधारगृहभित्रै बसेका उनले जानकारी दिए। बन्दीले गेट तोडफोड गरेर बाहिर निस्कँदै घरेलु हतियार र ढुंगा प्रहार गरी प्रहरीमाथि नै आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन बाध्य भएर प्रहरीले तीन राउन्ड गोली चलाउनुपरेको उनले जानकारी दिए। गोली लागेर दुई बन्दी घाइते भएका छन्।

गेट तोडफोड गरेर बाहिर निस्केको बालबन्दीले सुधारगृहलगायत नजिकैको यूसेप कार्यालयमासमेत तोडफोड गरेका छन्। तोडफोडबाट कति क्षति भयो भन्नेबारेमा यकिन भइनसकेको युसेपका कार्यकारी निर्देशक केशव सुवालले जानकारी दिए।

सुधारगृहबाट बाहिर निस्कने क्रममा बन्दीले लाठी, भाला, खुकुरी, चक्कुलगायतका घरेलु हतियार लिएर प्रहरीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रजिअ खरेलले जानकारी दिए। सुधारगृहभित्र औषधि, खाना, पानीलगायत विभिन्न कुरामा दैनिक विभेद हुने गरेको भन्दै बालबन्दीहरू आक्रोशित बनेको एक बालबन्दीले बताए। 

यसरी भयो सोमबारको घटना
जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रजिअ रिजालको अध्यक्षतामा आइतबार मृतक परिवारसँग बसेको बैठकले घटनाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्ने, जिम्मेवारी तोकेको थियो। मृतकका परिवारको माग बमोजिम नै घटनाबारे सत्यतथ्य अनुसन्धान गर्ने, शवको परीक्षण गर्ने, त्यसको रिपोर्ट हेर्ने, क्षतिपूर्तिको लागि माथिल्लो निकायमा लेखि पठाउने र आज घटनाका बारेमा प्रहरीमा जाहेरी दिनेसहित भएको थियो। 

मृतक परिवारसँग भएको सहमतिअनुसार सोमबार जाहेरी लिन प्रहरी तयारीमा बसेको थियो। सोमबारको घटनाबारे जानकारी दिँदै प्रजिअ रिजालले मध्याह्नसम्म पनि मृतक परिवार जाहेरी दिन नआएपछि सहायक प्रमुख जिल्ला अधिकारीले मृतकका आफन्तलाई जाहेरी दिन आउन आग्रहसमेत गरेको बताए।

प्रहरी र प्रशासनलाई जाहेरी दिन आउँछौँ भन्दै गरेका मृतकका आफन्त अचानक सोमबार मध्याह्नपछि बाल सुधारगृह गएर नाराबाजी गर्दै सुधारगृहभित्रै प्रवेश गरेपछि स्थिति तनावग्रस्त बनेको उनले जानकारी दिए। उनका अनुसार त्यसलगत्तै बन्दीले भित्रैबाट नाराबाजी गर्दै गृहको भान्छामा रहेको खुकुरी, चक्कु, लाठी, भाला लगायतका हतियार लिएर निस्केर बाहिर सुरक्षार्थ खटिएका प्रहरीमाथि जाइलागे। एकैपटक एक सयभन्दा बढी बन्दी निस्केर प्रहरीलाई लखेटेका थिए। सानोठिमीका प्रत्यक्षदर्शीका अनुसार हातमा घरेलु हतियार लिएर बन्दीले सानोठिमी एसओएससम्म लखेटेका थिए।

उनीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। स्थिति अनियन्त्रित भएपछि प्रहरीले तीन राउन्ड गोली चलाएको र दुई बन्दी घाइते भएकोमा वीर अस्पतालमा उपचार भइरहेका एकको अवस्था गम्भीर रहेको बताइएको छ। बन्दीले समूहमै नाराबाजी गर्दै पैदलै काठमाडौँ गएका थिए, कोही त्यतैबाट भागेका थिए। युसेपका अनुसार कोही बन्दी भने फर्किएर सुधारगृहमै आएका छन्।

सोमबारको घटनामा मृतक बस्नेतका आफन्तको लापरबाही, सहमति विपरीतको कदम भएकाले उनीहरूमाथि थप छानबिन गरी दोषी ठहरिए उनीहरूलाई कारबाही हुने भएको छ। बन्दीलाई भड्काउने, उक्साउनेलाई कारबाही गर्न बन्दीका आफन्तबाटै माग भएको बताइएको छ।

यसरी भएको थियो घटनाको शुरू 
जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा जबरजस्ती करणी अभियोगमा सजाय भुक्तान गर्न बाल सुधारगृह सानोठिमीमा ल्याइएको रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि बाल सुधारगृह तनावग्रस्त बनेको थियो। शनिबारदेखि नै ज्वरो आएपछि परिवारलाई खबर गरेको र राति सिटामोल खाएर सुते पनि बिहान बेहोस पाइएपछि नागरिक अस्पतालमा उपचारका लागि लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी गराएको थियो।

बस्नेतको मृत्युपछि सुधारगृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट नाराबाजी गर्दै भित्रै पसेपछि हिजो पनि सुधारगृहको स्थिति तनावग्रस्त भएको थियो । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । 

मृतकको बायाँ खुट्टाको तिघ्रामा पिलो आएको र पहिलादेखि नै आँखामा समस्या रहेको र ज्वरो आएको प्रहरीको भनाइ थियो। सुधारगृहले परिवारलाई मृत्यु भएको खबर दिए पनि मृत्युको कारण प्रस्टसँग जानकारी नगराएको र मृत्यु रहस्यमय भएको भन्दै आफन्तले घटनाबारे बुझ्न खोज्दा उल्टै प्रहरी वृत्त थिमिको प्रहरी निरीक्षकले टोलीले पीडित पक्षमाथि दुर्व्यवहार गरेको आफन्तले आरोप लगाएका थिए। उनीहरूले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए।

जिल्ला प्रशासन कार्यालयमा भएको सहमति हिजो साँझ घटनाले सहज रूप लिए पनि सोमबार दिउँसो सहमति विपरीत मृतकका आफन्त फेरि सुधारगृह गएर नाराबाजी गरेपछि अवस्था नियन्त्रण बाहिर आएको प्रहरीको भनाइ छ।