दाङ तुलसीपुर–१ भमकेका ९० वर्षीय प्रेमबहादुर डाँगी पनातिसमान उमेरका विद्यार्थीसँग कक्षा १ मा पढ्न थालेका छन्। अब, बाँचुन्जेल पढिरहने उनको भनाइ छ।
तुलसीपुर– पिठ्युँमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ दाङको तुलसीपुर–१ भमकेका ९० वर्षीय प्रेमबहादुर डाँगीको। उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन। त्यसैले उनी दैनिक विद्यालय जान्छन्। कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगीको दिन हिजोआज विद्यालयका बालबालिकासँग बित्छ।
उनले पनातिसमेत देखिसकेका छन्। तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग कक्षा १ मा पढ्न थालेका छन्। चालु शैक्षिक सत्रदेखि उनले वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा कक्षा १ को पढाइ शुरू गरेका हुन्। उनी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन्। “सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्,” उनले भने, “बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ।”
घरमा पनि उनी नातिहरूसँग बस्छन्। श्रीमतीको २०३२ सालमा निधन भयो। त्यसपछि एकल रूपमा घरमा बस्दै आएका थिए। जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बसिरहेका छन्। नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनको भनाइ छ। आफू बाँच्दासम्म पढिरहने प्रेमबहादुर बताउँछन्। “सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो,” उनी भन्छन्, “जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो।”

कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएका छन्। “परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ,” उनले भने, “त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ।” अंग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उनले राम्रोसँग पढ्न सकेको बताए।
उहाँजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए। “उहाँ आउँदा शुरूमा अचम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँ,” उनले भने, “अहिले उहाँ मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ।”
विद्यालयले प्रेमबहादुरलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले सुनाए। सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोसाक लगाउनुपर्ने भएकाले विद्यालय पोसाक पनि किनिदिने योजना बनाएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
