गैँडाकोटको बसेनी गाउँ १५ हजार सुन्तलाको बोटले हराभारा भएको छ। भिरालो र नांगो जमिनमा पनि किसानले व्यावसायिक रूपमा सुन्तला लगाएका हुन्।
मध्यबिन्दु– सुन्तला बगैँचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ।
बसेनी गाउँमा व्यावसायिक रूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ हराभारा देखिएको छ। भिरालो र नांगो जमिन अहिले सुन्तलाको बगैँचाले हरियाली मात्रै भएको छैन, भदौको अन्तिम सातासम्म सुन्तला बिक्रीका लागि तयारसमेत हुँदैछ।
६४ वर्षीय गुप्तप्रसाद रेग्मीको सुन्तला बगैँचामा उन्सु प्रजातिको सुन्तला बिक्रीका लागि तयार हुँदैछ। टीकारत्न टुल्की कृषि फार्म दर्ता गरी उनले २०७५ सालबाट सुन्तला जातका फलफूलको खेती लगाउँदै आएका छन्। “१४ रोपनीबाट शुरू भएको सुन्तला जातका फलफूलको व्यावसायिक खेतीलाई अहिले ८२ रोपनीमा विस्तार गरेका छौँ,” उनले भने।
एभोकाडो लगाउने योजनासहित बसेनीमा जग्गा खरिद गरे पनि सुनकागती–१ लगाउन धेरै जनाले सल्लाह–सुझाव दिएपछि कागतीबाट व्यावसायिक फलफूलखेती शुरू गरेका हुन्। “सुन्तला बगैँचामा उन्सु जातसहित एक हजार ५०० बोट सुन्तला, एक हजार २०० बोट सुनकागती–१, ३०० बोट निबुवा, किन्यु, जुनार, लप्सी, टिमुर, स्याउ, आँप, लिचीलगायत फलफूल रहेका छन्,” उनले भने, “यो सिजनमा सुन्तला र सुनकागती–१ को बिक्रीबाट १० लाख आम्दानी हुन्छ होला, गत वर्षभन्दा अहिले कागती र सुन्तलाको उत्पादन राम्रो छ।”
सुन्तला बगैँचामा अहिले भदौ दोस्रो हप्ता पाक्ने उन्सु जातको सुन्तलासहित असोजको अन्तिम हप्तामा पाक्ने नागपुरे जातको सुन्तला, मंसिरको १५ देखि पुससम्मको लागि स्थानीय खोको जातको सुन्तला र फागुनमा किन्यो जातको सुन्तला बिक्रीका लागि तयार हुने रेग्मीले बताए। “जग्गा खरिददेखि व्यवस्थापन सबैमा गरी अहिलेसम्म दुई करोड ५० लाख लगानी गरिसकेको छु,” उनले भने, “अब बल्ल राम्रोसँग उत्पादन दिने समय भयो, अहिले बगैँचामा दुईदेखि पाँच वर्षसम्मका बिरुवा हुर्किराखेका छन्।”
कृषकलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सिँचाइ, मेसेरेनरी औजार र बिरुवामा ५० प्रतिशत अनुदानसँगै फलफूल लगाउने आवश्यक ज्ञान, सीप, रोग कीराका बारेमा सल्लाह–सुझाव दिने गरेको छ।
पहाडी गाउँमा व्यावसायिक कृषि फार्म सञ्चालन भएसँगै स्थानीयले रोजगारीसमेत पाएका छन्। “१५ दिनको फरकमा २०० कामदार लगाएर बोटबिरुवा गोडमेल गर्नुपर्छ,” उनले भने, “कामदार प्रयोग गर्दा सबै यहीँ गाउँका दाजुभाइ, दिदीबहिनीलाई बोलाउने गरेका छौँ।”
कोदो र मकै मात्रै लगाएर जीविका चलाउँदै आएका यहाँका स्थानीयलाई पहिले गाउँमा सुन्तलाखेती हुन्छ भन्नेमा विश्वास नै लागेको थिएन। “रेग्मीसरको टीकारत्न टुल्की कृषि फार्ममा काम गर्न जाँदा पनि यस्तो ठाउँमा किन लगानी गरेको होला भन्ने लागेको थियो,” स्थानीय युवबहादुर सारूले भने।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आवश्यक सल्लाह–सुझाव, तालिम, अनुदान प्राप्त भएपछि अहिले गाउँ नै सुन्तलाको बगैँचा बनेको सारूले बताए। यहाँको दोडेटोलका किसान पनि मकै, कोदो छोडेर सुन्तला लगाउन थालेका छन्।
“३२ रोपनीमा ६०० सुन्तलाको बोट लगाएको छु,” सारूले भने, “पहिले कसैले विश्वास गरेका थिएनन् अहिले सुन्तलाको बोट हुर्किएको देखेर म आफैँ दंग परिरहेको छु।”
परियोजनाले जिल्लामा २०७५ सालबाट सुन्तलाजातका फलफूल जोनको कार्यक्रम शुरूआत गरेको हो। शुरूमा ३३१ हेक्टरमा हुँदै आएको खेती ८१८ हेक्टर क्षेत्रमा विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
