नेपाल भाषा मंकाः खलःले २०० वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिने गरेको छ। नाचका विभिन्न विधामा ४० जनासम्म कलाकार सहभागी हुन्छन्।
बेनी– म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन शुरू भएको छ। बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच शुरूआत भएको जनाइएको छ।
बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ। घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ।
बर्खेनाचअन्तर्गत सोमबारदेखि लाखेनाच शरू भएको छ। नागपञ्चमीको दिनदेखि लाखेनाच देखाउन थालिएको नेपाल भाषा मंकाः खलःले जनाएको छ। मंकाखलअन्तर्गत युवाहरूको समूह ल्यामः पुचको नेतृत्वमा बर्खेनाच देखाउने गरिन्छ। यस वर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइने भएको छ।
परम्परागत रूपमा देखाइँदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको ल्याम पुचका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार यस वर्षको बर्खेनाचमा करिब एक दशक बढी समयपछि धानको बालानाच देखाउन लागिएको हो।
मंकाः खलःले २०० वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिने गरेको छ। नाचका विभिन्न नाचमा ४० जनासम्म कलाकार सहभागी हुने गर्छन्। आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा यहाँ सो समुदायले बर्खेनाचलाई जीवन्त राखेका छन्।
बर्खेनाचका दर्जनौँ नाच लोप हुने अवस्थामा पुगेको सन्दर्भमा युवाको जागरणले संरक्षण र संवर्द्धनमा टेवा पुगेको नेपाल भाषा मंकाःखलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। यस वर्ष पनि युवालाई आवश्यक तालिम र परामर्श दिएर व्यवस्थित गराउने प्रयास गरिएको उनले जानकारी दिए।
बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानको रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायको समेत सहभागिता हुन थालेको छ। बर्खेनाचमा मृदंगा र मादलको तालमा नृत्य देखाउने गरिन्छ। सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ।
खासगरी लाखेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ। नागानागिनी नाच भने जनैपूर्णिमा पर्वदेखि दुई दिन वर्षभरि दिवंगत भएका व्यक्तिको सम्झनामा देखाउने चलन छ।
बर्खेनाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
