पुस्तकालयमा बसेर पढेको पैसा तिर्नुपर्ने भएपछि विद्यार्थी आक्रोशित, त्रिवि भन्छ– नियमन गर्न खोजेका हौँ

त्रिविको विश्वविद्यालयले पुस्तकालयमा अध्ययन गर्दा वर्षको एक हजार १०० रुपैयाँ तिर्नुपर्ने मापदण्ड बनाएको छ। तर, विद्यार्थीहरूले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ति जनाएका छन्।

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क तोकेपछि विद्यार्थी आक्रोशित भएका छन्। 

उनीहरूले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ति जनाएका हुन्। केन्द्रीय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालयभित्र बसेर अध्ययन गर्न चाहे शुल्क तिर्नुपर्ने मापदण्ड बनाएको थियो।

मापदण्डअनुसार अब छ महिना सदस्य बन्न ६०० र परिचयपत्र शुल्क १०० रुपैयाँ, एक वर्ष सदस्यता बन्न एक हजार रुपैयाँ र परिचयपत्र शुल्क १०० गरी एक हजार १०० रुपैयाँ तिर्नुपर्नेछ। केन्द्रीय पुस्तकालयको यो निर्णय उपयुक्त नभएको विद्यार्थीको गुनासो छ।

पुस्तकालयमा बसेर अध्ययन गर्ने शुल्क महँगो भएको विद्यार्थी रामहरि लामिछानेले बताए। लामिछानेले पुस्तकालयमा स्वतःस्फूर्त रूपमा विद्यार्थी जान पाउनुपर्ने भन्दै उनले पुस्तकालयमा बसेको शुल्क लिने निर्णय विद्यार्थीको हितमा नभएको बताए। पुस्तकालय कार्यालय समयमा मात्रै खुल्ने गरेको भन्दै चौबिसै घण्टा सञ्चालन गरेर विद्यार्थीमैत्री बनाउनुपर्ने उनको माग छ।

यस्तै, अर्का विद्यार्थी खगेन्द्र रिजालले पुस्तकालयले त्रिविमै अध्ययनरत विद्यार्थीबाट समेत अध्ययनका लागि बस्न शुल्क लिएको गुनासो गरे। अध्ययनका लागि शुल्क लिने निर्णयले आर्थिक रूपमा विपन्न विद्यार्थी मर्कामा परेको उनको भनाइ छ। “कतिपय विद्यार्थी कीर्तिपुरमा बसेर पढ्नका लागि जुम्ला, कालीकोट, मुगु लगायतका विकट जिल्लाबाट पनि आउने गरेका छन्,” उनले भने, “आर्थिक अवस्था कमजोर भएकालाई शुल्क तिर्न गाह्रो हुन्छ। पुस्तकालयले निर्णय सच्याउनुपर्छ।”

पुस्तकालयमा लोकसेवा, जापनिज भाषा पढ्नेले हडपेर बस्ने अवस्था आएपछि व्यवस्थित गर्न पुस्तकालयमा अध्ययन गर्न शुल्क निर्धारण गरेको त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले बताए। झोला राखेर विद्यार्थी बाहिर जाने र केन्द्रीय क्याम्पसका विद्यार्थीले पढ्न नपाउने स्थिति भएपछि विश्वविद्यालयले नियमन गरेको उनको भनाइ छ। 

पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पुस्तकालयमा अध्ययनरत विद्यार्थीको रेकर्ड राख्न पनि नियमन गरिएको बताए। विद्यार्थी सदस्यता कार्ड नहुँदा भद्रगोल भएका कारण नियमन र पहिचान गर्न सदस्यता कार्ड लागू गरिएको उनको भनाइ छ। “विश्वविद्यालय बाहिरबाट आउने व्यक्तिको सदस्यता कार्ड नहुँदा उनीहरूलाई नियमन र पहिचान गर्न सदस्यता कार्ड बनाइएको छ। पुस्तकालयमा विद्यार्थीबीच द्वन्द्व र झैझगडा नै हुन थालेपछि शुल्क निर्धारण गरिएको हो,” सुवेदीले भने। 

पुस्तकालयमा दैनिक ७०० देखि एक हजार विद्यार्थी अध्ययन गर्दै आएका छन्। त्रिवि केन्द्रीय पुस्तकालयभित्र लामो समयसम्म बसेर अध्ययन गर्न खोज्ने विद्यार्थीको हकमा अनिवार्य सदस्य हुनुपर्ने व्यवस्था गरिएको हो।