प्रधानमन्त्री दाहालले जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा रहेको रूख कटान र जग्गा अधिग्रहणको समस्या मौजुदा कानूनको संशोधन र नयाँ कानूनको निर्माण गरी सम्बोधन गरिने बताए।
भरतपुर– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाट देशको अर्थतन्त्रलाई समृद्ध बनाउने सपना पूरा गर्न लागेको बताएका छन्।
भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको मंगलबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले देशभित्र उत्पादित विद्युत् यहीँ खपत गरी नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकासमा तीव्रता दिन र अतिरिक्त भएको विद्युत् निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउने गरी काम भइरहेको उल्लेख गरे।
उनले सरकारले निजी लगानीकर्तालाई विद्युत् उत्पादनमा प्रोत्साहन गरेको भन्दै भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको बताए। उनले बंगलादेशसँग विद्युत् व्यापारको ढोका खुलेको भन्दै आसन्न चीन भ्रमणमा पनि विद्युत् व्यापारका विषयमा छलफल हुने सम्भावना रहेको बताए।
“एउटा छिमेकी देश भारतसँग १० वर्षमा दश हजार मेगावाटको विद्युत् व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ, यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्दै छौँ, नेपालको विद्युत् बंगलादेशसम्म पुर्याउन तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको छ,” उनले भने “अर्को छिमेकी देश चीनको भ्रमणमा छिट्टै जाँदै छु, चीनसँग प्रसारण लाइन र विद्युत् व्यापारका विषयमा सम्झौताहरू हुँदै छन्, यसबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने छ।”
प्रधानमन्त्री दाहालले जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा रहेको रूख कटान र जग्गा अधिग्रहणको समस्या मौजुदा कानूनको संशोधन र नयाँ कानूनको निर्माण गरी सम्बोधन गरिने बताए। १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् रूपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रूपमा प्राधिकरणलाई दिन लागिएको प्रधानमन्त्री दाहालले उल्लेख गरे।
नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलियतपूर्ण ऋणमा सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो। सब स्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो। यसको कुल लागत एक अर्ब ५२ करोड छ।
हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ। सात अर्ब ९४ करोड कुल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ। हेटौँडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो। मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सब स्टेसनबाट नयाँ भरतपुर सब स्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ।
दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सब स्टेसनबाट शुरू भई बर्दघाट सब स्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ। प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो। नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
