सत्तापक्षले ध्यान नदिँदा सदन सुचारु हुन सकेन: देवेन्द्र दाहाल

नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्त्वका हरेक सवालहरू ओझेलमा पर्ने गरेको बताए।

काठमाडौँ– नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद् बैठक अझै खुल्ने सुनिश्चिता नभएको बताएका छन्। सांसद दाहालले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउने विषय सत्तापक्षकै कारण अझै निर्णयमा पुगिनसकेकाले संसद् बैठक सुचारु हुने कुरा सुनिश्चित नभएको जिकिर गरेका हुन्।

मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रतिपक्षलाई सत्तोसराप गर्ने काम नगर्न पनि सरकार र सत्तापक्षलाई आग्रह गरे। समयमा आफ्नो काम नगर्ने तर प्रतिपक्षलाई सराप्ने काम सत्तापक्षले गर्न नहुने नेता दाहालको भनाइ थियो।

“अब लगभग नजिकनजिक उच्चस्तरीय छानबिन समिति बन्दैछ भन्ने कुरा सुनियो। तर पनि त्यो बनिसकेको छैन। त्यसले गर्दा सदन अझै पनि अवरुद्ध नै छ। अव त्यो के हुन्छ अझै भन्न सकिँदैन,” उनले भने, “समयमा हामीले ध्यान दिँदैनौँ। त्यसले गर्दा खेरी प्रतिपक्षतिर फर्केर सत्तोसराप गर्ने हाम्रो एउटा प्रचलन छ। त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने मलाई लाग्छ।”

सांसद दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्त्वका हरेक सवालहरू ओझेलमा पर्ने गरेको बताए। बाढी–पहिरोलगायतका पीडितलाई समेत सरकारले समयमै राहत दिन नसकेकोमा उनको आपत्ति थियो।

प्रतिपक्षले सुनियोजित रूपले संसद् बैठक अवरोध गर्‍यो’
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार आले मगरले जनताको समस्यामा केन्द्रित हुन नदिन प्रतिपक्षले सुनियोजित रूपमा संसद् बैठक अवरोध गरेको आरोप लगाए। मंगलबार राष्ट्रियसभाको बैठकमा सांसद मगरले जनताको समस्यामा केन्द्रित हुन नदिन र ऐन, कानुनहरू निर्माण गर्न नदिनका लागि संसद् बैठक अवरोध गरिएको दाबी गरे।

प्रमुख प्रतिपक्ष दलले सत्तापक्ष हुँदा पनि संसद् विघटन गरेको र प्रतिपक्ष हुँदा पनि स–सानो कुरामा बखेडा झिकेर बैठक चल्न नदिएको उनको जिकिर थियो। प्रतिपक्षको अवरोधको कारण संसद् आफ्नो अधिकार र कर्तव्यबाट विमुख हुनुपरेको उनले बताए

“सत्तापक्ष हुँदा खेरी प्रतिनिधिसभामाथि खड्ग प्रहार गर्ने, प्रतिपक्ष हुँदा पनि खडेखडे भएर यो सदन अवरोध गर्ने खालको कुरा भयो। त्यसले गर्दा संसद् आफ्नो कर्तव्य, दायित्वबाट विमुख हुनुपरेको छ,” उनले भने, “सदनलाई एउटा नियतवश, सुनियोजित तरिकाले अगाडी बढ्न नदिने, जनताको समस्यामा केन्द्रित हुन नदिने, महत्त्वपूर्ण ऐन, कानुनहरू निर्माण गर्न नदिने भन्ने खालको हो भन्ने हामीलाई लाग्दछ।”

उनले संसद् बैठक सुचारु गर्न सबैको ध्यान जानुपर्ने बताए।