नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए शपथ

मंगलबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।

काठमाडौँ– नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले शपथ लिएका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका थिए।

श्रेष्ठ ३१औँ प्रधानन्यायाधीशका रूपमा सोमबार नियुक्त भएका थिए। संवैधानिक व्यवस्थाअनुसार उनलाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

त्यसअघि श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्ने प्रस्तावमाथि संसदीय विशेष सुनुवाइ समितिमा सुनुवाइ भएको थियो। उनीविरुद्ध तीनवटा उजुरी परेको थियो। सुनुवाइलगत्तै संसदीय समितिले सर्वसम्मत रूपमा श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा अनुमोदन गरेको थियो।

संवैधानिक परिषद्ले नाम सिफारिस गरेपछि प्रस्तावित प्रधानन्यायाधीशमाथि संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेर अनुमोदन गर्ने र राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने व्यवस्था छ।

प्रधानन्यायाधीश श्रेष्ठको शपथ समारोहमा राष्ट्रपति पौडेलसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थित रहेको थियो।