चुनढुंगा उत्खननका कारण टाँटरीगाउँ पहिराको उच्च जोखिम

वर्षाको समयमा पनि खानीमा नियमित उत्खनन जारी छ। वर्षामा झनै माटो खुकुलो भएर एक्स्काभेटर चलाउँदा भित्ता थर्किने र पहिरो जाने जोखिम रहेको स्थानीय बताउँछन्।

उदयपुर– उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरीगाउँ पहिराको उच्च जोखिममा रहेको छ। भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुंगा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराको उच्च जोखिममा परेका हुन्।

सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुंगा उत्खनन् गर्ने खानीसँगै जोडिएको खानीको तल्लो भेगमा पर्ने मगर समुदायको बस्ती रहेको गाउँ पहिराको उच्च जोखिममा परेको हो। “माथि खनेको ढुंगासमेत गाउँमा झर्ने गर्छ। कति बेला कसको ज्यान जान्छ भन्न सकिँदैन”, टाँटरीका स्थानीय नरबहादुर मगर भने, “वर्षा छ गाउँमाथिको टापुमा एक्स्काभेटर खनेको खन्यै छ निदाउन सकिँदैन।”

गाउँमाथि उत्खनन क्षेत्रमा आधा दर्जन एक्स्काभेटरले नियमित ब्रेकर चलाउँदा भिरालो ठाउँमा रहेको बस्ती हल्लिने गरेको स्थानीय सेब्रे मगरले बताए। “कति बेला पहिराले लैजाने हो की ढुंगा झरेर मार्ने हो थाहा छैन,” उनले भने, “हाम्रो जग्गा किनिदिए पनि गाउँ छोडेर हिँड्न हुन्थ्यो।” 

पाँच वर्ष अघिदेखि उक्त क्षेत्रमा सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्टले खानी उत्खनन शुरू गरेको हो। खानी उत्खननका समयमा उक्त बस्ती पनि हटाउने कुरा भए पनि उद्योगले उक्त कार्य नगर्दा बस्ती जोखिममा परेको स्थानीय बताउँछन्।

उत्खननपछि खानी तथा भूगर्भ विभागको अनुगमनले पनि उक्त बस्ती हटाउनुपर्ने सुझाव दिए पनि उद्योगले बेवास्ता गरेको स्थानीय सूर्य लामाले बताए। “अनुगमनले तुरुन्तै यो बस्ती हटाएर मात्रै काम गर्नु भनेको थियो। तर अझै पनि हटाइएको छैन”, लामाले भने, “बस्ती हटाउन बस्तीको जग्गा जमिन खरिद गर्नुपर्ने भएपछि उद्योगले खर्च नगरी उत्खनन गरिरहेको छ।”

उद्योगका लागि ‘ए’ ब्लक खानी कार्यालयका माइनिङ इन्चार्ज होमबहादुर बस्नेत भने मापदण्डअनुसार उत्खनन गरेकाले जोखिम नरहेको दाबी गर्छन्। “विभागको मापदण्डबाहेक एक इन्च पनि तलमाथि गरेका छैनौँ”, इन्चार्ज बस्नेतले भने, “अनुगमन नियमित आउँछन् हामीले लापरबाही गर्नै मिल्दैन।”

वर्षाको समयमा पनि खानीमा नियमित उत्खनन जारी छ। वर्षामा झनै माटो खुकुलो भएर एक्स्काभेटर चलाउँदा भित्ता थर्किने र पहिरो जाने जोखिम रहेको स्थानीय बताउँछन्। वर्षामा उत्खनन गर्न नमिल्ने भए पनि उद्योगले जबरजस्ती गरेको स्थानीयवासीको आरोप छ।

तर खानी तथा भूगर्भ विभागका प्रवक्ता सुपरिटेन्डेन्ट जियोलोजिष्ट मोनिका झा वर्षामा उत्खनन बन्द गर्ने भनेको स्थानीय निकायको अधिकारमा नदीजन्य वस्तु मात्र रहेको बताउँछिन्। खानी उत्खनन जहिले पनि गर्न मिल्ने झाको भनाइ छ। खानी उत्खनन गरिएको क्षेत्रसँगै जोडिएको लल्लरी खोला रहे पनि स्थानीय सरकारले यसको विषयमा चासो नदिएको स्थानीयको भनाइ छ।