कांग्रेसको समुदायकेन्द्रित कार्यक्रम स्थगित, पार्टीको झन्डा राखी बनाइएका फेसबुक हटाउन निर्देशन

कांग्रेसले वर्षा, बाढीपहिरो, डेंगी तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय प्रभावित भएकाले उनीहरूको सेवामा जुट्न पार्टी संगठनहरूलाई आह्वान गर्दै ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित गरेको छ।

काठमाडौँ– सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले हालै सम्पन्न केन्द्रीय कार्य समितिले भदौ १० देखि २४ गतेसम्मका लागि तय गरेको सो कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको बताएको हो।

अविरल वर्षा, बाढी, पहिरो, डेंगी तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भीर रूपमा प्रभावित भएकाले उनीहरूको सेवामा जुट्न पार्टी संगठनहरूलाई आह्वान गर्दै अर्को निर्णय नभएसम्मका लागि सो कार्यक्रम स्थगन गर्ने निष्कर्षमा पुगिएको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।

“अविरल वर्षा, बाढी, पहिरो, डेंगी तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भीर रूपमा प्रभावित भएकाले हाल उनीहरूको सेवामा जुट्न सम्बन्धित तहका पार्टी संगठनहरूलाई आह्वान गर्ने र भदौ १० देखि २४ गतेसम्म गर्ने तय भएको कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराइन्छ,” उनले भने।

नेपाली कांग्रेसले साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएका पार्टीको विशेष आन्तरिक अभियान पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै त्यस अभियानमा संलग्न पार्टी नेता र कार्यकर्तालाई आभार व्यक्त गरेको छ। पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वकर्माले सो अभियानले पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउन पनि महत्त्वपूर्ण कार्य गरेको बताए। सो विशेष अभियानमा लागि कांग्रेसले पार्टीका सांसदबाहेकका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सबै जिल्लामा केन्द्रीय प्रतिनिधिको रूपमा परिचालन गरेको थियो।

उनले ‘नेपाली कांग्रेसको सदस्यता’ पार्टीको वेबसाइटमार्फत ‘अनलाइन प्रक्रिया’बाट लिन सकिने कुरा सबै तहमा जानकारी गराइ पार्टीको भ्रातृ संघ र हालसम्म कुनै पनि पार्टीमा आबद्ध नभएका व्यक्तिलाई समेत कांग्रेसको अनलाइन सदस्य बन्न प्रेरित गर्ने बताए। उनले यो कार्यक्रमअन्तर्गत क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने तथा पार्टीको प्रचारप्रसार प्रणालीलाई थप प्रभावकारी बनाइने जानकारी दिए। 

कांग्रेसले केन्द्रीय कार्यालयसँग एकरूपता हुने गरी सबै तहका कार्यसमितिले एक/एक आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेज सञ्चालन गर्न गराउन भएको छ। पार्टीको नाम, झन्डा वा चुनावचिह्न राखी प्रयोग भएका व्यक्तिगत फेसबुक प्रोफाइल वा पेज बन्द गर्न गराउन निर्देशन दिइएको उनको भनाइ छ। सार्वजनिकस्थल वा जथाभाबी मनोमानी विचार, धारणा वा टिप्पणी राख्ने प्रवृत्ति बढ्दा पार्टीपंक्तिमा निराशा फैलिएको उनले बताए।

त्यस्तै, नेता विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको टिप्पणी गरेका छन्। उनले कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकिर गरे। समाजमा जन्मिएको पार्टी भएको हुनाले कांग्रेसले जनसेवाको कामलाई निरन्तर अघि बढाएको उनको भनाइ थियो।

“समाजबाट जन्मिएका पार्टीहरू समाजमै छन्। सामाजिक सञ्जालबाट बनेका पार्टीहरू अझै सामाजिक सञ्जालमै छन् भन्ने हाम्रो बुझाइ छ। यति फरक छ। हाम्रो पार्टी समाजमै छ। र, केही पार्टी सामाजिक सञ्जालमा छन्। यसलाई हामीले यसरी बुझेका छौँ,” उनले भने।  नेता विश्वकर्माले कांग्रेस प्रचारमा नभई जनताको सेवा गर्ने काममा केन्द्रित भइरहेको बताए।

नेता विश्वकर्माले कांग्रेसलाई ‘घिउ’ र रास्वपालाई ‘घिउको वासना’सँग तुलनासमेत गरेका थिए। उनले जनताको बीचमा गएर काम गरेको हुनाले नै अहिले पनि कांग्रेस मुलुकको सबैभन्दा ठूलो दल बन्न सफल भएको बताए।