राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले खेलाडीहरू क्रिकेटको बलिया राष्ट्रसँग खेल्न उत्साहित रहेको बताएका छन्।
काठमाडौँ– भारत र पाकिस्तानको समूहमा रहेर एशिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दुई अनुभवी राष्ट्रविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन्।
एशिया कपको यात्रा शुरू हुनुअगाडि मंगलबार काठमाडौँमा भएको पत्रकार सम्मेलनको अवसरमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितले दुई अनुभवी राष्ट्र भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका हुन्। आगामी अगस्ट ३० मा पाकिस्तानविरुद्ध खेल्दै नेपालले एशिया कपमा डेब्यू पनि गर्दै छ। सोही एशिया कपको तयारीका लागि नेपालले पाकिस्तानमा नै अभ्यास गर्नेछ। त्यसका लागि नेपाली टोली मंगलबार पाकिस्तान प्रस्थान गर्दै छ।
कप्तान रोहितले क्रिकेटमा नतिजा यसै हुन्छ भन्न नसकिने उल्लेख गर्दै तयारीअनुरूपको प्रदर्शन गर्ने बताए। भारत र पाकिस्तानविरुद्ध खेल्दा विश्वकै नजर हुने भएकाले उनीहरूविरुद्ध आफ्नो उत्कृष्ट दिने कप्तान रोहितको भनाइ छ। साथै सबै खेलाडी क्रिकेटको बलिया राष्ट्रसँग खेल्न उत्साहित रहेको उनले उल्लेख गरे।
पछिल्ला समय नेपाली क्रिकेट टोलीका भरपर्दा बलर सन्दीप लामिछानेले एशिया कप नखेल्ने समाचार बाहिरिएका छन्। उनले नखेल्ने भएपछि उनका समर्थकहरू पनि सन्दीपको सहभागिता नहुने विषयलाई लिएर चासो व्यक्त गरिरहेका छन्। नेपालका कप्तान रोहितले भने सन्दीप खेल्ने वा नखेल्ने विषयमा आफूलाई कुनै जानकारी नभएको तर सन्दीपको महत्त्व सबैमाझ स्पष्ट रहेको धारणा राखे।
क्यानका म्यानेजर प्रदीप मजगैयाँले पनि सन्दीपको सहभागिता नहुने विषयमा अहिले नै टुंगो लागिनसकेको बताए। उनले सन्दीपको स्वास्थ्यमा समस्या रहेको पनि दाबी गरे। नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले पछिल्ला समय भएका केही भ्रमणमा पनि सन्दीपको सहभागिता दुबिधामा नै रहँदै आएको उल्लेख गर्दै उनी टोलीका च्याम्पियन खेलाडी रहेको पनि स्पष्ट पारे।
समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल अर्को बलियो टोली भारतसँग सेप्टेम्बर ४ मा खेल्नेछ। त्यसका लागि नेपाल पाकिस्तानबाट श्रीलंकामा यो खेल खेल्ने जानेछ। बलियो भारतविरुद्धको खेलका लागि पनि नेपाली टोली तयारका रहेको कप्तान पौडेल र प्रशिक्षक देसाईको धारणा रहेको थियो। नेपाली क्रिकेट टोलीका कप्तान रोहितले विश्वकप छनोटमा वेस्ट इन्डिज टेस्ट राष्ट्रसँग खेलेकाले त्यहाँबाट धेरै कुरा सिकेको र त्यो भारत र पाकिस्तानसँगको खेलमा लागू गर्ने विश्वास व्यक्त गरे।
नेपालले एशिया कपको लागि लामो समयदेखि तयारी गरिरहेको छ। वैदेशिक प्रशिक्षणसँगै घरमा पनि नेपालले तयारी गरिरहेको थियो। नेपाली क्रिकेट टोलीका प्रशिक्षक देसाईले भारत र पाकिस्तान अनुभवी राष्ट्र भए पनि उनीहरूविरुद्ध अन्तिम समयसम्म चुनौती प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन्। पछिल्लो ५/६ महिनायता जित्ने मानसिकताका साथ प्रशिक्षण गरिरहेको प्रशिक्षक देसाईको विश्वास छ।
नेपालले एशिया कप खेल्ने जाने नेपाली क्रिकेट टोली नेपालका राष्ट्रपति रामचन्द्र पौडेलबाट बिदाइ भएको क्यानले जनाएको छ। एशिया कप अगाडि नेपाली टोलीले कराचीमा अभ्यास खेल खेल्नेछ। नेपाली टोलीले आगामी भदौ ९ सम्म त्यहाँ प्रशिक्षण र स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ।
रोहितको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, गुलसन झा, करण केसी, किशोर महतो, श्याम ढकाल (मौसम), प्रतिश जिसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, अर्जुन साउद, भीम सार्की र सन्दीप जोरा छन्। यद्यपि, सन्दीपको सहभागिताबारे भने अहिलेसम्म टुंगो लागेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
