अन्तिम ९ मिनेटमा ३ गोल गर्दै अल–नासर एएफसी च्याम्पियन्स लिगमा छनोट

हारको संघारमा पुगेको अल–नासरले खेलको अन्तिम ९ मिनेटमा ३ गोल गर्दै शबाब अल–अहलीलाई ४–२ ले पराजित गर्दै एएफसी च्याम्पियन्स लिगमा स्थान बनाएको छ।

काठमाडौँ– अप्रत्यासित पुनरागमन गर्दै साउदी क्लब अल–नासर एएफसी च्याम्पियन्स लिगमा छनोट भएको छ।

मंगलबार राति भएको प्लेअफमा हारको संघारमा पुगेको अल–नासरले खेलको अन्तिम ९ मिनेटमा ३ गोल गर्दै शबाब अल–अहलीलाई ४–२ ले पराजित गरेको हो। 

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल–नासरका लागि एन्डरसन टालिस्काले दुई गोल गरे। उनले खेलको ११औँ मिनेटमा गोल गर्दै टोलीलाघ शुरूआती अग्रता दिलाएका थिए। 

शबाब अल–अहलीका लागि याह्या अल–घास्सानीले १८औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे। उनले नै ४६औँ मिनेटमा थप गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि जितका लागि पर्याप्त भएन। 

अल–नासरले खेलको ८८औँ मिनेटपछि ३ गोल गरेको थियो। ८८औँ मिनेटमा सुल्तान अल–घानामले गोल गर्दै खेल बराबरी गरे। अतिरिक्त समयमा टालिस्का र मार्सेलो ब्रोजोभिचले एक–एक गोल गरेपछि अल–अहली स्तब्ध बन्यो। 

साउदीबाट यसअघि अल–इतिहाद, अल–फायहा र अल–हिलाल च्याम्पियन्स लिगका लागि छनोट भइसकेका छन्।