एशियाली खेलकुद: पुरुष रग्बीमा नेपाल समूह ‘ए’मा

नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङकङ चाइनाविरुद्ध खेल्नेछ।  पुरुष रग्बीमा १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।

काठमाडौँ– चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुदको पुरुष रग्बीमा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालसँग यो समूहमा हङकङ चाइना र फिलिपिन्स छन्।

पुरुष रग्बीमा १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्। सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ। समूह ‘बी’मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेइ, समूह ‘सी’मा जापान, सिंगापुर र थाइल्यान्ड तथा समूह ‘डी’मा यूएई, चीन र अफगानिस्तान छन् ।

रग्बीका खेल सेप्टेम्बर २४ देखि शुरू हुनेछन्। विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले एकै दिन समूह चरणको दुवै खेल खेल्नेछ। नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङकङ चाइनाविरुद्ध खेल्नेछ। एशियाड सेप्टेम्बर २३ तारिखदेखि शुरू हुँदैछ।

एशियाली खेलकुदमा नेपालले पहिलो पटक रग्बीमा सहभागिता जनाउन लागेको हो। नेपालको सहभागिता पुरुषमा मात्र छ। १२ सदस्यीय खेलाडी टोलीलाई श्रीलंकाका सन विजेसिंघेले प्रशिक्षण दिइरहेका छन्।

नेपाली टोली
विराट श्रेष्ठ (कप्तान), विवेश बासु, विक्रम पुरी, विक्रम भारती, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पुजन फेवाली, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी।