पर्यटनमन्त्री किराँतीलाई पितृशोक

१४ वर्षदेखि पक्षाघातका बिरामी रहेका हर्कबहादुरको उपचारका क्रममा बुधबार बिहान पौने ५ बजे वीर अस्पतालमा निधन भएको छ।

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ।

उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा बुधबार बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किराँतीको सचिवालयले जनाएको छ।

मन्त्री किराँतीका बुवा लामो समयदेखि अस्वस्थ भई उपचाररत थिए। 

मन्त्री किराँतीले फेसबुकमा बुवाको निधन भएको जानकारी दिँदै लेखेका छन्, “आजबाट हामी पूर्ण रूपमा टुहुरो भयौँ, तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन। सारा नेपाली मेरो आमाबुवा हुन्। बाँकी जीवन उहाँहरूको सेवामा लगाउने छु। निःशब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रद्धाञ्जली!” 

हर्कबहादुरको पार्थिव शरीर बुधबार नै पुर्ख्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हर्कबहादुर राईको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, “नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँतीका आदरणीय बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा दुःखद निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।”