धादिङको रुविभ्याली गाउँपालिका–१ स्थित मचेत गाउँमा स्याउखेती फस्टाएको छ। तर, झरीका कारण यातायात ठप्प हुँदा उत्पादित स्याउ बजार पुर्याउन समस्या भएको छ।
मलेखु– धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ (मचेत)। रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ। भौगोलिक हिसाबले समेत विकट मचेतमा लटरम्म स्याउ फलेको छ। तर, बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन।
मचेतका लरेन्स लामाले पाँच वर्षअघि लगाएको स्याउले अहिले प्रशस्तै उत्पादन दिइरहेको छ। “गाउँमा स्याउ फलाउने र बजारमा बेच्ने रहरले स्याउ लगाएँ। फलेको पनि छ। गाउँसम्म गाडी ल्याउन नसकेकै कारण स्याउ बेच्न बजार लान सकिएन,” उनले भने, “कुहिएर जाला भन्ने चिन्ता भयो।”
एउटा बोटमा बढीमा ६० किलोसम्म स्याउ फलेको छ। नफलेको बोट कुनै छैन। “शुरूका वर्ष केही बोटमा मात्रै फल्यो, अघिल्लो वर्ष जेनतेन खेर फाल्नु परेन। यो वर्ष त सबै बोटमा लटरम्म फलेको छ,” उनी भन्छन्, “तर, बेच्न नपाएर यसै खेर जानेभयो।”
हिउँदमा जसोतसो हप्तामा दुई–तीनपटक गाउँमा गाडी पुग्छ। बर्खा लागेपछि कुनै गाडी गाउँ पुग्न सक्दैन। डोकोमा बोकेर बजार झार्न पनि सजिलो छैन। हिजोआज स्याउ बोकेर धादिङको किन्ताङफेदी वा रसुवाको स्याफ्रुबेँसी झर्न झन्डै दुई दिन लाग्छ। गाउँमै दैनिक दुई–चार किलो बेचेर स्याउ सकिने अवस्था पनि नभएको लामाले बताए।
लामाले पाँच रोपनी बारीमा २०० बोट स्याउ लगाएका छन्। एक बोटमा सरदर ३० किलोका दरले हिसाब निकाल्दा पनि २०० बोटमा छ हजार किलो स्याउ तयारी अवस्थामा छ। भारत र चीनबाट आएको स्याउ अहिले बजारमा प्रतिकिलो ४०० रुपैयाँ हाराहारीमा छ। तर, लामाले गाउँमा किन्न आउनेलाई १५० रुपैयाँमा बेचिरहेका छन्। १५० रुपैयाँ प्रतिकिलोले हिसाब गर्ने हो भने पनि नौ लाख बराबरको स्याउ सडक नभएकै कारण बजार झार्न नसकिएको लामाको भनाइ छ।
माटो परीक्षण गरेर प्राविधिक सल्लाहअनुसार नै खाल्डो, माटो र मलको मात्रा मिलाएर रोपिएको बिरुवाले राम्रो उत्पादन दिइरहेको छ। फुजी, गोल्डेन, रेड डेलियसियस र क्रिस्पीन जातका स्याउ बिक्रीका लागि तयारी अवस्थामा छन्।
स्याउ खान बारीमै पुग्नेले प्रतिव्यक्ति २०० रुपैयाँमा स्याउबारी अवलोकन गर्न र स्याउ खान पाइन्छ। लटरम्म फलेको स्याउ वन्यजन्तु र वस्तुभाउबाट जोगाउन कठिन छ। गाउँ नजिक चिस्यान केन्द्रको व्यवस्था पनि छैन। मचेत गाउँ पर्यटकीय गन्तव्य पनि हो।
धादिङको गल्छीबाट १५५ किलोमिटर यात्रा गर्दा यहाँ पुगिन्छ। काठमाडौँबाट गल्छी, नुवाकोटको त्रिशूली हुँदै रसुवाको स्याफ्रुबेँसीबाट धादिङको सोमदाङ, पाङ्साङ निस्केर मचेत पुग्न सकिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
